भारतमा संक्रमण दर बढेको बढ्यै, ६ महिना यता आइतबार सर्वाधिक मृत्यु

भारतमा संक्रमण दर बढेको बढ्यै, ६ महिना यता आइतबार सर्वाधिक मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेको छ । आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन् । यसअघि शनिबार एक लाख ५२ हजार ५६५ संक्रमित फेला परेका थिए ।

संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ । आइतबार कोरोना संक्रमणका कारण भारतमा ९०४ जनाको मृत्यु भएको छ । विगत ६ महिना यता एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएकाको यो नै सबैभन्दा ठुलो संख्या हो । यसअघि गत वर्ष अक्टोबर १७ मा कोरोना संक्रमणका कारण एक हजार ३२ जनाको मृत्यु भएको थियो ।

सक्रिय संक्रमितको संख्या सोमबार १२ लाख कट्ने अनुमान गरिएको छ । आइतबार सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ । आइतबार एकैदिन संक्रिय संक्रमितको संख्या ९३ हजार ५९० थपिएको थियो ।

एक करोड ३५ लाखभन्दा बढी संक्रमित

भारतमा अहिलेसम्म एक करोड ३५ लाख २५ हजारभन्दा बढी मानिस संक्रमणको चपेटामा परिसकेका छन् । तीमध्ये एक करोड २१ लाख ५३ हजार मानिस निको भइसकेका छन् । यस्तै, एक लाख ७० हजार २०९ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म १० करोडभन्दा बढीलाई खोप लगाइसकिएको छ ।

कहाँ कति संक्रमण ?

महाराष्ट्र  : भारतको महाराष्ट्र राज्यमा आइतबार ६३ हजार २९४ नयाँ संक्रमित फेला परेका छन् भने ३४ हजार ८ जना संक्रमणमुक्त भएका छन् । महाराष्ट्रमा आइतबार कोरोना संक्रमणका कारण ३४९ जनाको मृत्यु भएको छ । राज्यमा अहिलेसम्म ३४ लाख ७ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन् । तीमध्ये २७ लाख ८२ हजार मानिस निको भइसकेका छन् भने ५७ हजार ९८७ जनाको मृत्यु भएको छ । हाल करिब ५ लाख ६५ हजार संक्रमित उपचाररत छन् ।

उत्तर प्रदेश  : आइतबार उत्तर प्रदेश राज्यमा १५ हजार ३५३ जनामा संक्रमण पाइएको छ । यसदिन उत्तर प्रदेशमा २ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ । अहिलेसम्म उत्तर प्रदेशमा ६ लाख ९२ हजार मानिस संक्रमित भइसकेका छन् । तीमध्ये ६ लाख ११ हजार जना निको भएका छन् । उत्तर प्रदेशमा ९ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने ७१ हजार २४१ जनाको उपचार भइरहेको छ ।

दिल्ली  : यहाँ आइतबार १० हजार ७७४ नयाँ संक्रमित पाइएका छन् भने ५ हजार १५८ जना निको भएका छन् । आइतबार दिल्लीमा कोरोना संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ । अहिलेसम्म दिल्लीमा ७ लाख २५ हजार संक्रमित भएका छन् भने तीमध्ये ६ लाख ७९ हजार निको भइसकेका छन् । कोरोना संक्रमणका कारण दिल्लीमा ११ हजार २८३ जनाको मृत्यु भएको छ । यहाँ ३४ हजार ३४१ संक्रमितको उपचार भइरहेको छ ।

छत्तीसगढ  : आइतबार छत्तीसगढमा १० हजार ५२१ जनामा संक्रमण पाइएको छ । यहाँ आइतबार कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भएको छ । अहिलेसम्म यहाँ ४ लाख ४३ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन् भने ३ लाख ४८ हजार मानिस निको भइसकेका छन् । छत्तीसगढमा कोरोना संक्रमणका कारण ४ लाख ८९९ जनाको मृत्यु भइसकेको छ । यस्तै, ९० हजार २७७ जनाको उपचार जारी छ । संक्रमणको तुलनामा सक्रिय संक्रमितको दर यहाँ सबैभन्दा बढी छ । अहिले १८.४ प्रतिशत सक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ ।

मध्य प्रदेश  : आइतबार मध्य प्रदेशमा ५ हजार ९३९ जनामा संक्रमण पाइएको छ । यहाँ आइतबार ३ हजार ३०६ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा अहिलेसम्म ३ लाख ३८ हजार जना संक्रमणको चपेटामा आइसकेका छन् भने तीमध्ये २ लाख ९८ हजार मानिस निको भइसकेका छन् । यस्तै मृत्यु हुनेको संख्या ४ हजार १८४ पुगेको छ भने ३५ हजार ३१६ जनाको उपचार जारी छ ।

गुजरात  : यहाँ आइतबार ५ हजार ४६९ जनामा संक्रमण पाइएको छ । आइतबार निको हुनेको संख्या २ हजार ९७६ र मृत्यु हुनेको संख्या ५४ रहेको जनाइएको छ । अहिलेसम्म यहाँ ३ लाख ४७ हजार मानिस संक्रमणको चपेटामा परिसकेका छन् भने ३ लाख १५ हजार मानिस निको भइसकेका छन् । यस्तै ४ हजार ८०० मानिसको मृत्यु भइसकेको छ । हाल गुजरातमा २७ हजार ५६८ संक्रमितको उपचार भइरहेको छ ।