फेसबुक ‘चुरोट जस्तै’ हानिकारक

फेसबुक ‘चुरोट जस्तै’ हानिकारक

विश्व आर्थिक मञ्चको समापन समारोहमा गत वर्ष अमेरिकी खर्बपति एवं प्रविधि व्यवसायी मार्क बेनिअफले फेसबुकप्रति खरो टिप्पणी गरेका थिए।

उनले मार्क जुकरबर्गको सामाजिक सञ्जाललाई चुरोट उद्योग नियमन गर्ने अमेरिकी कानुनकै दायरामा ल्याउनुपर्ने बताएका थिए । 

यो कुरा उनी अझै दोहोर्याइरहेका छन्। गत नोभेम्बरमा उनले भनेका थिए, ‘फेसबुक नयाँ चुरोट हो। यो नशालु छ । यो हाम्रा लागि राम्रो चिज होइन।’

उनका टिप्पणीपछि फेसबुकको छवि थप बिग्रियो, जब यसलाई प्रजातान्त्रिक हस्तक्षेपका लागि महत्त्वपूर्ण हतियारका रूपमा प्रयोग गरियो। 

यो डेटा स्क्यान्डलको विवादमा पनि पर्यो। बेनिअफले प्रजातन्त्रका लागि फेसबुक चुरोट जत्तिकै हानिकरक भएकाले यसबारे कदम चाल्न आवश्यक रहेको बताएका छन्।

बालबालिकालाई इन्टरनेटको विकृतिबाट बचाउन आवाज उठाउँदै आएको ‘कमन सेन्स मिडिया’ का संस्थापक जिम स्टेयर पनि बेनिअफकै पक्षमा उभिएका छन् । 

‘सामाजिक सञ्जालले व्यसन र विकर्षणजस्ता अनेक समस्या सिर्जना गर्छ,’ बेनिअफले बिजनेस इन्साइडर अनलाइनलाई भनेका छन्, ‘फेसबुक र अन्यले हाम्रा प्रजातान्त्रिक संगठनमाथि पनि धावा बोलिरहेका छन्।’

फेसबुकका सुरुवाती लगानीकर्ता एवं जुकरबर्गका पूर्वगुरुसमेत रहेका रोजर म्याकनेमले समेत सामाजिक सञ्जाललाई खैनी–चुरोटको संज्ञा दिएका छन्।

‘बेनिअफले यसलाई सार्वजनिक स्वास्थको दृष्टिले हेर्न खोजेका छन्,’ रोजर भन्छन्, ‘त्यसमा मेरो विचार उनीसँग हुबहु मिल्छ ।’ फेसबुकले प्रयोगकर्ताको ध्यान खिच्न अनेक प्रोत्साहनहरू दि“दै आएको छ ।

यसलाई रोजरले ‘प्रयोगकर्ताको भावनामाथि नमिठो प्रहार’ भन्न रुचाएका छन् । प्रविधिको नियमनका लागि पर्याप्त उपाय भएको बेनिअफको धारणा छ । 

सामाजिक सञ्जालहरूले प्रयोगकर्ताको इच्छाबमोजिम काम गर्दै तिनका विचार सुरक्षित राख्छन् भन्नु वा उनीहरूले स्वनियमनको नीति अवलम्बन गर्छन् ठान्नु मुर्खता भएको उनले बताएका छन् ।

‘फेसबुक, गुगल र अमाजनजस्ता कम्पनीको शक्ति नियन्त्रण गरिनुपर्छ,’ उनले भनेका छन्, ‘तिनलाई आरोप–प्रत्यारोप गर्नबाट रोक लगाउनुपर्छ । तिनले आफ्ना सहायक कम्पनीसँग डाटा सेयर गर्न नपाउने नियम हुनुपर्छ ।’ 

सहायक कम्पनीसँगको सम्बन्ध विच्छेदले सामाजिक सञ्जाललाई सभ्य बनाउन मद्दत पुग्ने विज्ञहरूको धारणा छ । यसो गर्दा विश्व अर्थतन्त्रलाई पनि सहयोग पुग्ने अडकल गरिएको छ ।

‘फेसबुक र इन्स्टाग्रामको ब्रेकअप खराब उपाय होइन,’ रोजरले भनेका छन्, ‘उनीहरूलाई आफ्नो प्रमुख उद्देश्यमा केन्द्रित गराऊ न ।’ 

यसबार प्रतिक्रिया दिने फेसबुकले आनाकानी गरेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ । तथापि उसले तथ्यांक सुरक्षामाथि अभिव्यक्ति दिएको छ ।

आफूहरू नियमनमा बस्न तयार रहेको र सुधारका लागि तत्पर रहेको फेसबुककी मुख्य कार्यकारी अधिकारी सेरिल स्यान्डबर्गले बताएकी छन्। ‘हामीले आफ्नो भूल स्विकारेका छौं,’ उनले भनेकी छन्, ‘प्रयोगकर्ताको डेटा सुरक्षित राख्न चाहन्छौं । यसप्रति गम्भीर छौं ।’ साभार : कान्तिपुर