नेपाल भारत नापी टोलीद्वारा विवादित महाकाली तटबन्ध निरीक्षण

नेपाल भारत नापी टोलीद्वारा विवादित महाकाली तटबन्ध निरीक्षण

दार्चुला । नेपाल–भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल (तटबन्ध) को दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच÷पाँच सदस्यीय नापी प्राविधिकको टोलीले भारतले बनाइरहेको तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फी रुपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरिरहेको विषयमा सञ्चारमाध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

नेपाली टोलीमा चिफ सर्भे अफिसर जयानन्द जोशीको नेतृत्वमा सर्भे अफिसर कमल शाही र कपिल कटुवाल तथा सर्भेयर सहदेश घिमिरे र सुन्दर देवकोटा छन् । यस्तै भारतको तर्फबाट डिएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धिरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो ।

दुबै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छैन भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

दुबै देशको टोलीले सोमबार स्थलगत निरीक्षण गरेकोले प्राविधिक टोली फर्किएपछि थप जानकारी प्राप्त हुने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । नेपाली पक्षसँग समन्वय नै नगरी सीमाक्षेत्रमा निर्माण भइरहेको तटबन्धको काम रोक्न जिल्ला प्रशासन कार्यालयले पटकपटक पत्राचार गरे पनि भारतले बेवास्ता गर्दै तटबन्ध निर्माणको काम अघि बढाएको थियो ।

भारतले महाकालीमा एकतर्फी रूपमा पर्खाल लगाएर नेपालतर्फको भूमि जोखिममा पर्दा पनि सरकार मौन रहेको भन्दै संसदमा समेत सरकारको आलोचना भएको थियो । त्यसपछि सरकारले नापी विभागका प्रमुख नापी अधिकृतको संयोजकत्वमा टोली बनाएर अध्ययन गर्नुका साथै पछिल्लो समय प्राविधिक निरीक्षणका लागि टोली पठाएको हो ।

दार्चुलाको महाकाली नगरपालिका–५, गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी नेपाली भूमिमै तटबन्ध निर्माण गरिरहेको छ । २०७० सालमा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा सो क्षेत्र नदीपारि परेको थियो ।

भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गरिरहेको स्थानीय रघुवीर ठगुन्नाले बताउनुभयो । २०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब एक हजार रोपनीभन्दा बढी जग्गा महाकाली नदीपारि परेको छ ।

तत्कालीन खेल मैदान, वन कार्यालयको भवनलगायत भूभाग सबै नदीपारि गएको छ । भारतले महाकाली पारी गएको नेपाली भूमिमै नेपाललाई जोखिम हुने गरेर तटबन्ध निर्माण गरिरहेको स्थानीय दीपक बडूले बताउनुभयो ।

महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो । भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि झन त्रसित बनेका छन् ।

बाढीले निरन्तर पु¥याउने क्षति घटाउन नेपालले महाकाली किनारमा २०७१ सालमा तटबन्ध बनाउन थाल्दा उतिबेला भारतीय पक्षले धारचुलाबाट माइकिङ गरेर रोकेको थियो । सीमा नदीमा आफूखुशी तटबन्ध बनाउँदा आफ्नो भूभाग डुब्न सक्ने भन्दै भारतले नदीभन्दा परै बाँध लगाउन भनेको थियो ।

भारतको अनुरोध पछि नेपालले नदीको किनारभन्दा झण्डै एक सय मिटर वरै तटबन्ध निर्माण गरिरहेको छ । तर त्यही ठाउँको उतापट्टि भारतले अहिले नदी क्षेत्र पुर्दै एकतर्फी तटबन्ध बनाइरहेको छ ।

भारतीय पक्षले विगत वर्षहरुमा नेपालसँग समन्वय नगरीकनै विभिन्न ठाउँमा काठेपुल बनाउँदै आएको थियो । त्यतिमात्र हैन, नेपाली भूमि कालापानी, लिपुलेकसम्म सडक विस्तार गरेर नियमित यातायातका साधनहरु निर्बाध रुपमा सञ्चालन गरिरहेको छ ।

भारतीय सडकका कारण महाकालीको सतह खुम्चिँदै गएको छ, भने नेपालतर्फ कटान समेत हुने गरेको व्यासका स्थानीय दीपक बडूले बताउनुभयो । सीमा अतिक्रमण र सीमाक्षेत्रमा निर्माण हुने गरेका एकतर्फी संरचनाले नेपाली भूमि उच्च जोखिममा परेको उहाँको भनाइ छ । गोरखापत्रबाट