लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने

लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने

बैतडी ।   लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने भएको छ। हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो।  

खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। उनले भने ‘आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको छ।’

बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ। सिंचाईको सुविधा नभएका ठाउँमा कतिपय किसानले गहुँ छर्नै पाएनन् भने छरेका ठाउँमा पनि खडेरीका कारण बालीनाली सुकेको किसानहरुले बताएका छन् । 

यो बर्ष हिउँदमा बर्षा नहुँदा सिंचाई सुविधा नभएका ठाउँमा गहुँ बाली सुकिसकेको किसानहरुले बताएका छन् । खडेरीका कारण उत्पादनमा २५ देखि ३० प्रतिशत कमी आउने आँकलन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

उत्पादनमा ह्रास आउने संकेत देखिएसँगै जिल्ला बाहिरबाट खाद्यान्न आयात वृद्धि हुनेछ । खडेरीका कारण बालीनाली सुकेपछि बाहिरबाट आयात गर्नुपर्ने खाद्यान्न परिमाण वृद्धि हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। प्रत्येक बर्ष जिल्लामा हिउँदे बाली उत्पादनमा गिरावट आउने गरेको जनाइएको छ । सुख्खापनका कारण यहाँका अधिकांश वनक्षेत्रमा पनि डढेलो लागेको छ । 

भोकमरीको चिन्ता 

खडेरीका कारण यो बर्ष उत्पादनमा कमी आउने भएपछि किसानलाई भोकमरीको चिन्ता बढेको छ । हिउँदे वर्षासमेत नहुँदा जिल्लाका अधिकांश ठाउँमा जमीन बाँझो रहेको छ भने गहुँ छरेका ठाउँको गहुँ पनि सुकेका छन् । सिंचाई नभएका ठाउँमा खेत बाँझै रहेकाले भोकमरीको चिन्ता बढेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले बताए ।

अधिकांश ठाउँमा सिंचाई अभाव रहेको छ। ‘लामो समयको खडेरीले खेत बाँझै छन्’ उनले भने‘ सिंचाइको अभाव र आकाशे पानी नपर्दा खेतमा लगाएको बालीनाली सुकेको छ’

सिंचाईको अभाव रहेका ठाउँका नागरिक यो बर्ष भोकमरी हुने भन्दै चिन्तित समेत बनेका छन्। गएको मंसिरदेखि नै पानी परेको छैन। आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको शिवनाथ गाउँपालिकाका रामबहादुर साउदले जानकारी दिए। उनले भने‘आकाशे पानी भरमा रहेका किसानका खेतबारी बाँझै छन्, भोकमरीको चिन्ता बढेको छ।’

लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वनजंगल का रुखहरू सुक्न थालेका छन्। रुख बिरुवामा पालुवा आउने बेलामा ठूलठूला रुखहरू सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।  

रुखहरू सुक्दै जान थालेपछि पानीका मुहान पनि सुक्दै गएका छन्। जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार भएको छ ।