महाकालीपारिको हजार रोपनी नेपाली भूमिमा भारतको गलफती

महाकालीपारिको हजार रोपनी नेपाली भूमिमा भारतको गलफती

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रमा भारतले महाकाली नदीको बहावलाई असर पर्ने गरी एकतर्फी रूपमा नेपाली भूमिमै तटबन्ध निर्माण सुरु गरेपछि सोमबार दुवै देशका अधिकारीले स्थलगत निरीक्षण गरेका छन् । 

२०७० मा महाकाली नदीमा आएको बाढीका कारण नदीले धार परिवर्तन गर्दा नेपालको भूमि नदीपारि परेको थियो । अहिले भारतले सोही क्षेत्रमा तटबन्ध निर्माण गरेपछि नेपाल सरकारले विरोध जनाउँदै आएको थियो ।

भारतले सहमतिबिनै एकतर्फी रूपमा नेपाललाई असर पर्ने गरी तटबन्ध निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले रोक्न पटक–पटक पत्राचार गरेको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार स्थानीय स्तरमा पटक–पटक काम रोक्न पत्राचार गरिएको छ । तर, अहिले पनि भारतीय पक्षले तटबन्ध निर्माण रोकेको छैन । तटबन्ध निर्माण रोक्न माग गर्दै संघीय सांसद दिलेन्द्रप्रसाद बडुले संसद्मै आवाज उठाएका छन् । 

भारतले तटबन्ध बनाइरहेको विषयमा यसअघि पनि नापी विभागको टोली दार्चुला पुगेको थियो । नेपालबाटै भारतले निर्माण गरिरहेको तटबन्ध हेरेर टोली एक महिनाअघि फर्किएको थियो ।

त्यतिबेला बनाएको प्रतिवेदन भने सार्वजनिक गरिएको थिएन । पछिल्लो समय संसद्मा समेत भारतले निर्माण गरेको तटबन्धको विषय उठान भएपछि दुवै देशका नापी विभागका अधिकृतले स्थलगत निरीक्षण गर्ने सहमति भएको थियो । 

नापी विभागका उपसचिव दयानन्द जोशीको नेतृत्वमा ५ जनाको टोली सीमासम्बन्धी नक्सा लिएर दार्चुला पुगेको हो । यद्यपि नक्सा सार्वजनिक गरिएको छैन् । दुवै देशका अधिकारीले वीरेन्द्र वनको पारिपट्टि मिचिएको भूमिको निरीक्षण गरेका छन् । 

भारतबाट जैतेन्द्र सिंहको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो । नेपाल– भारतका सुरक्षाकर्मी पनि टोलीमा सहभागी थिए । 

स्थलगत निरीक्षणपछि संक्षिप्त प्रतिक्रिया दिँदै विभागका उपसचिव जोशीले भारततर्फ गएको भूमिको प्वाइन्ट खोज्ने काम गरिने बताए । उनले भने, ‘हाम्रो के–कति भूमि गएको हो भन्नेबारे खोजी गरिरहेका छौँ । सकेसम्म विवाद निरुपण गर्छौं । अझै केही दिन दार्चुलामै बसेर सीमाको विषय निरुपण गरिनेछ ।’

यसअघि नेपालबाटै निरीक्षण गरिएको कारण प्रतिवेदन सार्वजनिक नगरिएको हो । २०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको करिब १ हजार रोपनी बढी जग्गा महाकाली नदीपारि परेको महाकाली नदी नियन्त्रण आयोजना निर्देशक शोभाकर पौडेलले बताए ।

उनले भने, ‘महाकालीमा बाढी आउँदा नदीले धार परिवर्तन गरेर दार्चुलाको गल्फै क्षेत्रको करिब १ हजार रोपनी जग्गा महाकाली नदीपारि परेको छ । जिल्ला वन कार्यालय, भू–संरक्षण कार्यालयलगायतको जमिन सबै नदीपारि परेको छ ।’