डोटीमा बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता

डोटीमा बालविवाह नगर्ने बालबालिकाको प्रतिबद्धता

डोटी। जिल्लामा हुँदै आएको बालविवाह अन्त गर्नका लागि यहाँका अभिभावक अग्रसर भएपछि यहाँको सबैभन्दा बढी बालविवाह गर्ने वडाका रुपमा चिनिँदै आएको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका बालबालिकाले बालविवाह नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

“सबै जुटौंँ बालविवाह रोकौँ” भन्ने मूल नारासहित बालविवाहविरुद्धको अभियान सफल पार्न म प्रतिबद्व छु भन्दै सुनादेवी र चौखान माध्यमिक विद्यालयमा अध्ययनरत कम्तीमा ७०० विद्यार्थीले हस्ताक्षर गर्दै आफ्नो प्रतिबद्धता जनाएका हुन् ।

विद्यार्थीहरुले ब्राह्मणा, डाडाँगाउँ, सेरी, सेट गाउँ हुँदै सुनादेवी माध्यमिक विद्यालयको प्राङगणसम्म विभिन्न नारासहित ¥याली निकालेर बालविवाह नगर्ने घोषणा गर्नुका साथै बालविवाह गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

सो वडालाई २०७८ चैत मसान्तसम्म बालविवाहमुक्त गर्ने योजनासहित दिपायल सिलगढी नगरपालिकाले रणनीतिक योजना लागू गरेको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा विभिन्न कार्यक्रम गर्दै आएको सामुदायिक विकास केन्द्र डोटीले बालविवाह नगर्न तथा नगराउन अभिभावकसँग हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

मागी विवाहमा कमी आएको भए पनि उमेर नपुगी भागी विवाह गर्ने क्रम बढ्दै गइरहेकाले बालबालिकाबाट नै बालविवाह अन्त्यका लागि प्रतिबद्धता गर्न लगाइएको केन्द्रका शिक्षा विकास अधिकृत एकराज बडूले बतानुभयो ।

उहाँले भन्नुभयो, “बालविवाह अन्त्य गर्नका लागि बालबालिकाले प्रतिबद्धता जाहेर गरेका छन्, यो वर्षभित्र यहाँको बालविवाह अन्त हुने आशा गरेका छौँ ।” यस वडाका अभिभावकले बालविवाह नगर्ने पटक–पटक प्रतिबद्धता जाहेर गरे पनि व्यवहारमा लागू नगरेका कारण यहाँको बालविवाहको अन्त्य हुन नसकेका अहिले बालबालिकाले नै बालविवाह अन्त्का लागि प्रतिबद्धता जाहेर गरेको गुड नेवर्स इन्टरनेशनल नेपाल डोटीका जिल्ला संयोजक रञ्जित चौधरीले बताउनुभयो ।

बालविवाह अन्त्यका लागि अहिले बालबालिकाले ऐक्यबद्धता जनाएकाले आफूहरुलाई पनि थप कार्य गर्न हौसला मिलेको र आगामी दिनमा पनि सबैको साथ सहयोग पाउनेमा आफूहरु आशावादी रहेको उहाँले जानकारी दिनुभयो । महिनावारी नहुँदै छोरीको विवाह गरे पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक अन्धविश्वास कायमै रहेका कारण उक्त वडामा हुने बालविवाह अन्त्य हुन नसकेको वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “धर्मका नाममा हुने अधिकांश विकृति हटाउनु जरुरी भएको छ, सानैमा छोरीको विवाह गरे पुण्य पाइन्छ भन्ने अन्धविश्वास हटाउन हामीलाई चुनौती भएको छ ।” यस वडामा कायमै रहेको बालविवाह अन्त्यका लागि गुड नेवर्स इन्टरनेशनल नेपाल, सामुदायिक विकास केन्द्र डोटी, स्थानीय निकाय, बालबालिका, तथा स्थानीय बाल क्लबलगायत सक्रिय रहेपनि अन्त्य हुनसकेको छैन् । यहाँको बालविवाह रोक्नमा अभिभावक जिम्मेवार तथा बालबालिका आफैँ सजग बन्नुपर्ने दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी वडा सदस्य सरस्वती साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “संस्थाले चाहेर मात्रै बालविवाह अन्त्य हुने अवस्था छैन, अब अभिभावक र बालवालिकाले आफैँ बालविवाह अन्त्यका लागि अग्रसर हुनुपर्ने बेला आएको छ ।” वडा सदस्य साउदका अनुसार उक्त वडामा सानै उमेरमा बालविवाह गरिएका कारण दर्जनौँले अकालमै ज्यान गमाइसकेका छन् भने कयौँको ज्यान जोखिममा परिसकेको छ ।

विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडी प्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त प्रथाको अन्त लागि काम गर्दै आएको सामुदायिक विकास मञ्चका अध्यक्ष सिद्धराज शर्माले जानकारी दिनुभयो । जिल्लाका विभिन्न समुदाय तथा जात जातिमा छोरीहरुको १७/१८ वर्षकै उमेरमा विवाह गरी दिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

बालविवाह लुकिछिपी प्रसस्तै हुने गरेको भए पनि गएको दुई आर्थिक वर्षमा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तिमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भएपनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो ।

उहाँका अनुसार २० वर्ष नपुगी गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने, गराउनेलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था गरेको भए पनि मुद्दा दर्ता नहुने गरेका कारण उक्त बालविवाहले प्रश्रय पाएको हो ।