नेकपा एमाले र जसपा बीच सत्ता सहकार्य हुने

नेकपा एमाले र जसपा बीच सत्ता सहकार्य हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सता सहकार्य हुने भएको हो ।

प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागिता रहेको थियो । ओली र ठाकुरबीच छलफल सकेर बिहीबार साँझ कार्यदलको संयुक्त बैठक बसेर अहिलेसम्मको प्रगतिका विषयमा समेत छलफल भएको छ ।

छलफलमा सहभागी एमाले संसदीय दलका उपनेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले परिणाममुखी वार्ता भएको बताए । शीर्ष नेताका साथै कार्यदलका बीचमा भएको छुट्टाछुट्टै छलफल सकारात्मक रहेको बताउँदै उनले केही दिनमै परिणाम दिने गरी काम हुने बताए ।

‘छलफल सकारात्मक छ । केही दिनभित्रैमा परिणाम दिने गरी हाम्रो गृहकार्य भइरहेको छ,’ नेम्वाङले राजधानीसँग भने, ‘हामी छलफललाई निरन्तरता दिने र उहाँहरूले उठाउँदै आएका माग सम्बोधन गर्नतर्फ अघि बढेका छौं ।’

जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुठा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा उठाउँदै आएको छ । नेकपाले सांसद चौधरीको रिहाइका साथै मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । जसपा नेताहरूले समेत आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको र प्रक्रिया अघि बढेको बताउँदै आएका छन् ।

एमालेबाट संसदीय दलका उपनेता नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई र जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा रहेका छन् । यो वार्ता टोलीको छलफल निरन्तर जारी रहेको छ ।

जसपा कार्यकारिणी समितिका सदस्यसमेत रहेका वार्ता टोलीका सदस्य कर्णले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक रहेको बताए । सांसद चौधरीको रिहाइ, मुद्दा फिर्तालगायतका माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको उनले बताए ।

‘हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढेको छ । हाम्रो छलफल सकारात्मक रूपमा अगाडि बढाउने सहमति हामीबीच भएको छ,’ कर्णले राजधानीसँग भने, ‘प्रधानमन्त्री आफैं हाम्रो माग सम्बोधन गर्न निरन्तर लागिरहेको जानकारी प्राप्त भएको छ ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले जसपासहित नेकपा (माओवादी केन्द्र)सँग मिलेर सरकार निर्माण गर्न खोजेको छ । तर, जसपा भित्रै दुई धार निर्माण भएपछि त्यो सम्भव देखिँदैन । यता एमालेले जसपाले उठाउँदै आएको माग सम्बोधन गर्ने प्रक्रिया अघि बढाएपछि ओली नेतृत्वको सरकारमै जसपासमेत सहभागी हुने टिप्पणी राजनीतिक वृतमा भइरहेको छ ।

प्रतिनिधिसभामा जसपासँग ३४ सांसद रहेकोमा दुई जना निलम्बित छन् । जसपासँग सरकार निर्माणका लागि एमाले, माओवादी केन्द्रका साथै कांग्रेसले समेत छलफल गरिरहेको छ । -आजको राजधानी दैनिकमा खबर छ ।