धनगढीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते

धनगढीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते

धनगढी । कैलालीको धनगढीमा कार र मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते भएका छन्। धनगढी उप-महानगरपालिका ४ शहीद गेटस्थित ६ लेन सडकमा विहिबार राति जिल्लाको मसुरियाबाट विरामी लिएर धनगढी आउँदै गरेको कार र विपरित दिशातर्फ जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किदा एक जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका ९ बस्ने अविनाश वस्नेतले चलाएको से १ च १५२१ नम्बरको कार र मोटरसाइकल चालक नरेन्द चन्दले चलाएको बा २ ब ३६६४ नम्बर मोटरसाइकल ठोक्किएको हो।

मोटरसाइकल चालक घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।