भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीमा संक्रमण, २१०४ जनाको मृत्यु

भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीमा संक्रमण, २१०४ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा एकैदिन ३ लाख १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख १४ हजार ८३५ जना संक्रमित थपिएका हुन् । मृत्यु हुनेको संख्या २ हजार १०४ छ ।

योसँगै हालसम्म संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९६५ पुगेको छ भने मृतकको संख्या १ लाख ८४ हजार ६५७ पुगेको छ । १ करोड ३४ लाख ५४ हजार ८८० जना निको भएका छन् । पछिल्लो २४ घन्टामा १ लाख ७८ हजार ८४१ जना निको भए पनि अझै २२ लाख ९१ हजार ४२८ सक्रिय संक्रमित छन् ।

भारतमा कोरोनाको दोस्रो लहरले भयावह अवस्था सिर्जना गरेको छ । अस्पतालमा शय्या अभाव मात्रै होइन भर्ना भएका बिरामीलाई समेत अक्सिजन अभाव हुन थालेको छ । महाराष्ट्र र दिल्लीमा अक्सिजनको चरम अभाव रहेको बताइएको छ । नासिकमा बुधबार एक अस्पतालमा अक्सिजन लिक भई अभाव हुँदा २२ जना बिरामीको मृत्यु भएको छ ।

बढ्दो कोरोना संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारी नियन्त्रणको अन्तिम विकल्प प्रभावित क्षेत्रलाई अन्य क्षेत्रसँगबाट अलग गर्नु (लकडाउन) नै रहेको बताइसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहर थप जटिल हुँदै गएपछि प्रधानमन्त्री मोदीले समस्यालाई नियन्त्रणमा राख्न प्रतिबन्धात्मक निर्देशनको सहारा लिनुको विकल्प नदेखिएको मंगलबार देशवासीका नाममा सम्बोधनका क्रममा बताएका हुन् ।मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

भारतमा यसअघि नै धेरै राज्य तथा जिल्लामा लकडाउन जारी छ ।