बझाङ कारागारमा रहेका नेकपा जिल्ला कमिटी सदस्य कठायत मुक्त

बझाङ कारागारमा रहेका नेकपा जिल्ला कमिटी सदस्य कठायत मुक्त

बझाङ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्।

उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भएपनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन्। जिल्ला कारागारमा समूहका पाँच जना कार्यकर्ता थिए। यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थिए। अझै तीन जना कारागारमै छन्।

प्रहरीले कठायतलाई विसं २०७७ मङ्सिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो। जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनुका साथै कोणसभासमेत आयोजना गरिएको थियो।सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।