कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, प्रति किलो कतिमा हुँदै छ कारोबार ?

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढ्यो, प्रति किलो कतिमा हुँदै छ कारोबार ?

कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् ।

ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु १९० र काटेर रु ३२० मा बिक्री हुने गरेको तर अहिले जिउँदो कुखुरा रु २८० सम्म र काटेको मासु रु ४२० मा बजारमा बिक्री भइरहेको छ । सातामा मासुको मूल्य प्रतिकिलो रु १०० का दरले बढेकाले मासुको बिक्रीमासमेत कमी आएको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले बताइन् । 

“मैले दैनिक १० देखि २० किलोसम्म मासु बिक्री गर्छु । बजारमा सहजरूपमा जिउँदो ब्रोइलर कुखुरा पाइरहने र मासु बिक्रीबाट राम्रो मुनाफा हुने भएकाले नियमित यही काम गर्दै आएकी छु”, उनले भनिन्, “केही दिनदेखि कुखुरा पाउनै मुस्किल भएको छ । कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको छ । मूल्य बढेपछि बिक्रीसमेत घट्न थालेको छ ।” ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेकोे पदमरम्भा पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताइन् । उनले विगत केही महिनादेखि किसानले आवश्यक मात्रामा ब्रोइलर चल्ला नपाउँदा उत्पादनमा कमी आएको बताइन्।

“किसानले समयमा चल्ला पाएनन् त्यसले कुखुरा अभाव भयो”, रावलले भनिन्, “ब्रोइलर कुखुराको मासुको माग बढ्दै गएको र पूर्ति गर्न उत्पादन नभएकाले दैनिक मासुको मूल्य बढ्दै गएको हो । अभाव हेर्दा अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” बजारमा ब्रोइलर अभाव भएसँगै बिक्री मूल्यमा एकरूपतासमेत छैन । बजारमा  मासु उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा रु ३८० देखि ४२० सम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताइन् । 

‘‘टीकापुर नगरपालिकाले बजार व्यवस्थापन ऐन निर्माण गरिसकेको छ । ऐन अनुसार प्रक्रियामा जानेछौँ’’, उपप्रमखु विष्टले भनिन्, “उपभोक्तालाई मारमा पर्ने काम भएकाले केही दिनमा बजार अनुगमन गरेर बजारमा मनपरी मूल्य वृद्धि रोक्छौँ । हामीले आजभोलि नियमित बजार अनुगमन शुरु गरेका छौँ ।” उपप्रमुख विष्ट नगरपालिकाले बजारमा उपभोक्ता ठगी गर्ने केही ब्यापारीलाई कारवाहीको दायरामा समेत ल्याएकाले अनावश्यक अभाव सिर्जना गर्ने, मूल्य बढाउनेलाई कारवाही गर्ने बताइन् ।