भारतमा एकैदिन तीन लाख ४६ हजारमा कोरोना संक्रमण, दुई हजार ६२४ को मृत्यु

भारतमा एकैदिन तीन लाख ४६ हजारमा कोरोना संक्रमण, दुई हजार ६२४ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो केहीसमय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेकदिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४६ हजार ७८६ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा २ हजार ६२४ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ८९ हजार ५४४ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ६६ लाख १० हजार ४८१ पुगेको तथ्यांक छ । 

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । 

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोराेना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाउँदै आएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ ।