नेपाल प्रवेश गर्न ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट तथा खोप कार्ड अनिवार्य  !

नेपाल प्रवेश गर्न  ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट तथा खोप कार्ड अनिवार्य  !

दार्चुला । कोरोनाको जोखिमलाई मध्यनजर गरी सिमानाकाबाट नेपाल प्रवेश गर्न ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।

आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पछिल्लो समय छिमेकी देश भारतको धारचुला लगायतका क्षेत्रमा कोरोना बढ्दो क्रममा रहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सिमानाकाबाट प्रवेश गर्ने व्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ वा दुई चरणको कोरोना खोप लगाएको कार्ड भएमा मात्र प्रवेश दिने अन्यथा प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

भारतले पनि उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाभित्रको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनु पर्ने आदेश जारी गरेको छ । यस्तै अत्यावश्यक प्रकृतिका कार्य बिरामी, कुरुवा, विवाह तथा मृत्यु जस्ता प्रयोजनका लागि नेपालबाट भारत जान परे एन्टिजेन परीक्षण गर्ने जनाइएको छ । 

उक्त प्रयोजनका लागि बिरामीको हकमा जिल्ला अस्पताल तथा विवाह र मृत्यु जस्ता संस्कारको लागि सम्बन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्ने भएको छ ।

बैठकले कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण र उपचारका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम र प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट महाकाली नगरपालिकालाई प्राप्त बजेट कोरोना व्यवस्थापनसँग सम्बन्धित औषधीजन्य मालसामान खरिद, पूर्वाधार, उपकरण तथा अन्य व्यवस्थापकीय कार्यहरूमा खर्च गर्नका लागि सहजीकरया गर्ने पनि निर्णय गरेको छ ।

साथै गृह मन्त्रालयबाट प्राप्त पत्रानुसार सबै स्थानीय तहलाई आइसोलेसन सेन्टरहरू पुनः सञ्चालन गर्न निर्देशन समेत दिइएको छ ।