भारतमा कोरोनाले त्राहिमाम : २४ घण्टामा ३ लाख ५४ हजारमा संक्रमण

भारतमा कोरोनाले त्राहिमाम : २४ घण्टामा ३ लाख ५४ हजारमा संक्रमण

भारत यतिबेला कोरोना भाइरसको भयानक लहरको सामना गरिरहेको छ। हरेक दोस्रो दिन भारतमा कारोनाका नयाँ संक्रमितहरुको संख्याले रेकर्ड तोडिरहेको छ ।

पछिल्लो २४ घण्टामै भारतमा कीर्तिमानी संक्रमित पुष्टि भएका छन् । सोमबार बिहान भारतमा कुल ३ लाख ५४ हजार कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि भएको छ, जुन अहिलेसम्म विश्वमै सबैभन्दा ठूलो आँकडा हो ।

२४ घण्टामा कुल संक्रमित : ३, ५४, ६५३
२४ घण्टामा भएका निधन : २,८०६
सक्रिय संक्रमितको संख्या : २८, ०७,३३८
कुल संक्रमित संख्या : १, ७३, ०६, ४२०
अहिलेसम्मका निधन : १, ९५, ११८
२४ घण्टामा संक्रमणमुक्त : २, १८, ६७४
अहिलेसम्मका संक्रमणमुक्त : १,४२, ९६, ७५३

भारतमा तीन लाख भन्दा बढी संक्रमित पुष्टि भएको आज लगातार पाँचौं दिन हो अर्थात पछिल्लो ५ दिनमै भारतमा १५ लाख नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो चार दिनमा क्रमश: ३ लाख ४८ हजार, ३ लाख ४५ हजार, ३ लाख ३२ हजार तथा ३ लाख १५ हजार कोरोना संक्रमित थपिएका छन् ।

यसैबीच कोरोना संकेटकालको प्रारम्भमा भारतले विश्वभरी सहयोग गरेको थियो । रेमडेसिभिरदेखि लिएर खोप उपलब्ध गराउनसम्म भारत पछाडि परेन, अहिले आएर जब भारतमा कोरोनाको नयाँ लहरको कहर जारी छ, यतिबेला विश्वले नै भारतलाई सहयोग गर्न थालेको छ ।

अमेरिकाले खोप उत्पादनका लागि कच्चा पदार्थ दिने बताएको छ भने अन्य थुप्रै सहयोग गर्ने घोषणा गरेको छ । बेलायतले पनि भारतका लागि उपचारमा काम लाग्ने उपकरणहरु पठाइदिएको छ भने साउदी अरब, सिंगापुर जस्ता थुप्रै देशहरुले अहिले भारतलाई अक्सिजनका कन्टेनरहरु उपलब्ध गराइरहेका छन् ।

भारतमा अक्सीजन छ, तर तिनलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने कन्टेनरहरुको अभाव छ ।

भारतमा अहिले हरेक राज्यहरुमा संक्रमित बढिरहेका छन् ।

यद्यपि, दिल्ली, यूपी तथा महाराष्ट्र त्यस्ता राज्यहरु हुन्, जहाँ संक्रमितको संख्या अत्यधिक मात्रामा बढ्नुका साथै अस्पतालमा शैय्याको अभाव भएको छ ।

दिल्लीका थुप्रै अस्पतालहरुमा अक्सीजन सकिन थालेको छ, मानिसहरुले शैय्या पाइरहेका छैनन् ।

यूपिका लखनउ, वाराणसी, कानपुरसहित अन्य शहरको अवस्था पनि उस्तै छ ।

महाराष्ट्रमा कोरोनाका कारण हरेक दिन ६० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन्, जुन निकै चिन्ताजनक छ ।

यद्यपि, मुम्बईमा पछिल्ला केही दिनयता संक्रमितको संख्या घट्न थालेको छ, जसले केही राहत दिएको छ ।

यद्यपि, अहिले पनि संकट यथावत छ ।