कैलालीका १ सहित आईपीएलमा सट्टेबाजी गराउने ११ जना पक्राउ

कैलालीका १ सहित आईपीएलमा सट्टेबाजी गराउने ११ जना पक्राउ

धनगढी ।  भारतको चर्चित इन्डियन प्रिमीयर लिग (आइपीएल)  क्रिक्रेट, प्रिमिएर लिग, स्पेनिस ला लिगा फुटबल, यूएफए च्याम्पिएर लिग लगायतमा अनलाइन सट्टेबाजी गराउने ११ जनालाई महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ।

उनीहरुलाई सूचनाको आधारमा काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ।  पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बनस्थली बस्ने ३१ वर्षीय अशोक सिंह,  रौतहटको गौर नगरपालिका–१ घर भई हाल ठमेल बस्ने २८ वर्षीय राहुल कुमार जैसवाल, मोरङको बिराटनगर महानगरपालिका–३ घर भई हाल कालिमाटी बस्ने ३० वर्षीय संदिप कुमार मंडल, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका घर भइ हाल ठमेल बस्ने ३६ वर्षीय राजु थापा, धादिङ् गल्छी गाउँपालिका–२ घर भई हाल ठमेल बस्ने ३१ वर्षीय सन्तोष खतिवडा रहेका छन्। 

यस्तै भारतीय नागरिकहरु समेत उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारका २९ वर्षीय बिक्रम कुमार जैसवाल, ३१ वर्षीय अंकित कुमार कलवार, हिमाञ्चल प्रदेशको सोलन थानाका ४६ वर्षीय सुशिल जेस्टा, राजस्थानका ३१ वर्षीय पवन कुमार शर्मा, राजस्थानकै ३०  वर्षीय सुचित अग्रवाल र बिहारका ४० वर्षीय मुकेश जैसवाल रहेका छन्। 

उनीहरुबाट २ लाख ९६ हजार नगद र १७ थान मोबाइल बरामद गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए। उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।