अस्पतालबाट खिमविक्रमको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

अस्पतालबाट खिमविक्रमको स्पष्टीकरण : पार्टीको निर्णयप्रति प्रतिवद्ध छु

राष्ट्रिय जनमोर्चा पार्टी गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले आफूप्रति आइरहेका हल्लाहरुको खण्डन गरेका छन् । बुधवारको प्रदेश सभा बैठकबाटै एकाएक गायब भएका सांसद शाहीले आफू पार्टीको निर्णयमा प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

‘पोखराको चरक अस्पतालको आइसीयूमा उपचाररत सांसद शाहीले आज एक पत्र लेख्दै आफू एकाएक बेहोस भई उपचारको लागि गएको र अहिले क्रमिक सुधार भएको समेत बताएका छन् । म सदनमा जाने भनि तयारी अवस्थामा रहेका बेला अचानक बिरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारको लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु ।’ उनले लेखेको पत्रमा लेखिएको छ( ‘म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका उठेका कैयौँ प्रश्नको बारेमा प्रष्ट गर्नेनै छु ।’

त्यस्तै गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा आफ्नो सहमती रहेको बताउँदै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको बताए ।

‘पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेको कारण ती निर्णयहरुप्रति मेरो पनि सहमती रहेकाले त्यस विषयमा पार्टीको निर्णप्रति प्रतिवद्ध कायमै छ ।’ उनले भनेका छन् ।

गण्डकी प्रदेश सरकार जोगाउने वा हटाउनेमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका सांसद एकाएक हराएसँगै बुधवारको बैठक बस्न सकेन । पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपनि उनी कोभिड अस्पतालको आइसियूमा उपचारत रहेका छन् ।