आइपिएल क्रिकेट : कोलकातालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

आइपिएल क्रिकेट : कोलकातालाई हराउँदै दिल्ली दोस्रो स्थानमा

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पन्छाउँदै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा कोलकातालाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा समेटिएको हो । अहमदाबादमा कोलकाताले दिएको १५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दिल्लीको जितमा पृथ्वी शाले ८२ रनको अर्धशतकीय इनिङ्ग खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ४६ रन बनाउँदा कप्तान ऋषभ पन्त १६ रनमा आउट भए । कोलकाताका पाट कमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए ।

सुबमन गिलले ४३ रन जोड्दा पाट कमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए । कप्तान इयान मोर्गन र सुनिल नारिन शून्यमा आउट भए ।

दिल्लीका अक्षर पटेल र ललित यादवले २-२ विकेट लिए । जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । कोलकातामाथिको जितपछि दिल्लीले ७ खेलबाट १० अंक जोडेको छ ।

रोयल च्यालेन्जर्स बैंग्लोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । यता कोलकाता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकाताले ७ खेलमा ४ अंक जोडेको छ ।