आईपीएल क्रिकेट : आज मुम्बइ र चेन्नई भिड्दै

आईपीएल क्रिकेट : आज मुम्बइ र चेन्नई भिड्दै

इन्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्स हरेक संस्करणका दावेदार टोली हुन्। १३ वटा आईपीएल मध्ये यी दुई टोलीले नै ८ उपाधि चुमेका छन्। ५ उपाधि जितेको मुम्बई र ३ उपाधिको विजेता चेन्नईको दुश्मनी आईपीएलमा सबै भन्दा लोकप्रिय खेल हो ।

यो संस्करणको समीकरणमा पनि केही फरक देखिएको छैन। दिल्लीको अरुण जेट्ली स्टेडियममा साँझ ७:४५ बजे भिड्ने यी दुई विशाल टोलीको खेलबाट निकै ठूलो अपेक्षा राखिएको छ।

साविक विजेता मुम्बईलाई चेन्नईको चुनौती यस पटक अझै कठिन देखिन्छ। लगातार ५ खेलमा जित निकालेको चेन्नईको प्रदर्शन प्रशंसनीय छ। डेथ ओभर्समा चेन्नईले १३.२४ प्रति ओभरको औसतले रन बनाएको अवस्था छ जुन २०२१ आईपीएलकै सर्वोश्रेष्ठ ब्याटिङ हो। त्यस्तै, बलिङ तर्फ पनि चेन्नईको प्रदर्शनमा कुनै कमजोरी छैन। पावरप्लेमा चेन्नईले सर्वाधिक विकेट पनि लिन सफल भएको छ।

एक वाक्यमा भन्नु पर्दा, मुम्बईले २०२० मा गरेको कुरा चेन्नईले २०२१ मा गर्दै छ। मुम्बईको आईपीएलको शुरुवात भने सोचे जस्तो हुन सकेको छैन। आफ्ना विस्फोटक ब्याट्समेनले रन जोड्न नसक्दा मुम्बईले ६ खेलमा मात्र ३ जित निकालेको छ। चेन्नईको स्लो विकेटमा आफ्नो पहिलो ५ खेल खेलेको मुम्बईले पछिल्लो खेल दिल्लीमा खेलको थियो, जसमा उसले राजस्थानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्न सफल भएको थियो।

मुम्बईलाई कुनै पनि बेला प्रतियोगितामा हलुका लिन सकिंदैन, र यो कुरा मुम्बईले समय समयमा सावित पनि गरिसकेको छ। चेन्नई विरुद्ध पछिल्ला खेलहरुको नतिजाले मुम्बईको आत्मविश्वास अझै बढाउनेछ। पछिल्ला ५ खेलमा मुम्बईले चन्नाईलाई ४ पटक पराजित गरेको छ।

हिजो आफ्नो ३४औं जन्मदिन मनाएका मुम्बईका कप्तान रोहित शर्मालाई मुम्बईको टोलीले उपहार स्वरूप चेन्नई विरुद्ध जित दिन सक्ला त ? चेन्नईका कप्तान धोनी यसमा बाधक बन्न सक्ने छन्।