वैज्ञानिक भन्छन : हामीले दिएको सुझाव सरकारले नमान्दा भारतको अवस्था भयावह भयो

वैज्ञानिक भन्छन : हामीले दिएको सुझाव सरकारले नमान्दा भारतको अवस्था भयावह भयो

भारतमा सरकारले नै गठन गरेको वैज्ञानिकहरुको समूहले दिएको चेतावनीलाई नमान्दा भयावह अवस्थामा पुगेको पाइएको छ ।

वैज्ञानिक सल्लाहकारहरुको समूहले गएको मार्च महिनामै कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन थालेको र त्यो ज्यादै सङ्क्रामक रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएको भए पनि प्रधानमन्त्री नरेन्द्र मोदी तथा सरकारले बेवास्ता गरेको बीबीसीले जनाएको छ ।

सल्लाहकार समितिमा संलग्न चारजना वैज्ञानिकहरुले अब केही समयमै देशको अवस्था नराम्रो हुने भन्दै चेतावनी दिएको भए पनि सरकारले बेवास्ता गरेर सङ्क्रमण रोक्ने प्रयासको सट्टा भीडभाड बढाएको बताएका छन् ।

वैज्ञानिकहरुले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै सरकारलाई आग्रह गरेकै समयमा कडा प्रतिबन्धहरु लगाएको भए पनि देश अहिलेकाे अवस्थामा नपुग्ने बताएका बीबीसीले जनाएको छ । बढी सङ्क्रामक र घातक भेरियन्ट फैलिरहेको जानकारी दिइसकेपछि पनि लाखौं मानिस भेला भएर धार्मिक कार्यक्रम तथा राजनीतिक सभाहरु गरेकोले सङ्क्रमण व्यापक हुन सहयोग पुगेको वैज्ञानिकहरुको भनाइ छ ।

किसानहरुको आन्दोलन, प्रधानमन्त्री स्वयं तथा सत्तापक्ष र प्रतिपक्षका नेता सहभागी धार्मिक तथा राजनीतिक कार्यक्रमहरुमा मास्क समेत नलगाइ मानिसहरु सहभागी हुनु र यसलाई रोक्नुको सट्टा प्रोत्साहन गर्नु प्रधानमन्त्री मोदी र सरकारको कमजोरी रहेको वैज्ञानिकहरुले बताएका छन् ।