दाङ | दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, स्थित स्याउली बजारमा पार्किङ गरिराखिएको भारतीय कारभित्र भेटिएका ३ शव स्थानीय बालकको भएको पत्ता लागेको छ।
शनिबार राति भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र ३ वटा शव भेटिएको भन्ने खबर आएपछि प्रहरी टोली पुगेर हेर्दा तीनै जना बालक र उनीहरू एकै टोल तुलुसीपुर उपमहारनगपालिका वडा नम्बर ६ कै बरुवा गाउँका भएको खुलेको हो।
दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द्रप्रसाद रिजालले दिएको जानकारीअनुसार कारभित्र मृत फेला परेकाहरू तुलुसीपुर उपमहारनगपालिका वडा नम्बर ६, बरुवा गाउँका ९ वर्षीय सन्देश परियार, सोही ठाउँका ८ वर्षीय करण परियार र सोही स्थानका ७ वर्षीय सुवर्ण परियार हुन्।
एकै थर (परियार) भए पनि उनीहरू अलग–अलग परिवारका भएको डीएसपी रिजालले बताए। तीनै बालकका शव खुलै अवस्थामा कारका सिटमा थिए।
डीएसपी रिजालका अनुसार बालकका शरीरमा कुनै चोटपटक छैन भने हत्या हो वा अन्य किसिमको मृत्यु, अहिल्यै भन्न सकिने अवस्था छैन।