डक्टर तथा नर्सहरू दुई ब्याचलाई आइसियु सञ्चालन सम्बन्धी तालिम प्रदान गरियो

डक्टर तथा नर्सहरू दुई ब्याचलाई आइसियु सञ्चालन सम्बन्धी तालिम प्रदान गरियो

सुदूरपश्चिम | कोरोना महामारीको चपेटामा परेको स्वास्थ्य क्षेत्रको क्षमता वृद्धि गरी अस्पतालहरूलाई कोरोना प्रतिरोध गर्न सक्षम बनाउने उद्देश्यले सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा जिल्ला अस्पतालहरू, टिकापुर, सेती, तथा महाकाली अस्पतालका ११ जना मेडिकल अफिसर तथा १३ जना नर्सिङ स्टाफ गरी जम्मा २४ जनालाई इन्फेक्सन प्रिभेन्सन कन्ट्रोल तथा क्रिटिकल केयर व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको छ ।

एक ब्याचमा ६ जना डक्टर र ६ जना नर्स गरी १२ जना रहने ३ ब्याचको लागि तालिम योजना गरिएको भए पनि लकडाउनका कारण आवागमनमा असुविधा भएकोले दुईव्याच मात्र तालिम चलाइएको र आवागमन खुकुलो हुने बित्तिकै तेस्रो ब्याच पनि सञ्चालन गरिने कुरा आयोजकले बत्ताएका छन् ।

प्रदेश स्वास्थ्य तालिम केन्द्र र सेती प्रादेशिक अस्पतालको समन्वय र जिआइजेडको स्वास्थ्य क्षेत्र सहायता कार्यक्रमको साझेदारीमा जनचेतना तथा युवा जागरण मञ्च नेपाल (फाया नेपाल) ले उक्त तालिम सञ्चालन गरेको हो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको स्वीकृत पाठ्यक्रम र निर्देशिका बमोजिम दिइएको उक्त तालिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), वीर हस्पिटलका प्राध्यापक डक्टर रवि राम श्रेष्ठको नेतृत्वमा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरूले प्रदान गरेका थिए ।

तालिमका बारे जानकारी दिँदै फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले यस तालिमले यस अघि नै आइसियु स्थापना भइसकेर पनि जनशक्तिको अभावका कारण सञ्चालनमा आउन नसकेका विभिन्न अस्पतालमा सेवा सुचारु गर्न तथा यस अघि सेवा सञ्चालनमा रहेका अस्पतालमा थप तथा सहजतापूर्वक सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।