आजदेखि बैतडीमा दुई साता निषेधाज्ञा

आजदेखि बैतडीमा दुई साता निषेधाज्ञा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा आजदेखि दुई साता निषेधाज्ञाको घोषणा गरिएको छ। आइतबार सदरमुकाममा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको घोषणा गरेको हो।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार निषेधाज्ञा बैशाख २० गतेदेखि जेठ २ गते राति १२ बजेसम्म लागू हुनेछ। नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ।

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन। खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइनेछ। विवाह, ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ। यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ।

विकास निर्माणका योजनाको काम अघि बढाउँदा संक्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्ने निर्णय भएको छ।

कोरोना संक्रमण नफैलियोस् भनेर गरिएको निषेधाज्ञाको पालना गर्न सबै जिल्लाबासीमा अनुरोध गरिएको छ। कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन अनुसार कारबाही हुने बताइएको छ। बैतडीमा दोस्रो लहरको कोरोनाबाट दुई सय १३ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।