नेकपा एमालेले माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका सांसदहरु गंगा चौधरी सत्गौवा, कलिला खातुन र समिना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समिना हुसेनलाई स्पष्टीकरण सोधेको जानकारी दिएका छन्।
उनीहरुले पार्टीको निर्देशन अवज्ञा गरेको आरोप लगाइएको छ। साथै पार्टी विरोधी गतिविधि गरेको भन्दै सांसद पदबाट बर्खास्त किन नगर्ने रु भनेर स्पष्टीकरण सोधिएको हो। यही वैशाख १६ गते स्पष्टीकरण पत्र पाएका उनीहरूले जवाफ फर्काइसकेका छन्।
उनीहरु पछिल्लो समय एमाले नेपाल पक्षमा सक्रिय भएका थिए । यसअघि एमालेले माधव नेपालसहित घनश्याम भुसाल, भीम रावल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधिसकेको छ। यसअघि नेता नेपालसहित २७ जनालाई इमेलमार्फत स्पष्टीकरण सोधिएको थियो। योसँगै स्पष्टीकरण सोधिएका सांसदको संख्या ३० पुगेको छ।