आजसम्म खुसीले नजिक आउन पाएको छैन

आजसम्म खुसीले नजिक आउन पाएको छैन

आजसम्म खुसीले नजिक आउन पाएको छैन।

त्यसैले होला यो मन पनि रमाउन पाएको छैन।

 

नोकरी गर्छु भनेको थिए नोकर नै बुझ्नु भएछ,

गुजारा चलेको छ यसरी कमाउन पाएको छैन।

 

खुसी नमाग्ने सर्तमा जिन्दगी पाएको मान्छे म,

खुसी भएर यो जिन्दगी बिताउन पाएको छैन।

 

बाहिर जस्तै खडेरी छ भित्र तिमीलाई देखिन्न, 

मन जलेको कति भयो निभाउन पाएको छैन।

 

रुन दिदैन यो दुनियाँ झन झन घाउ कोट्याएर,

आफू हाँस्न पाएको छैन हँसाउन पाएको छैन।

 

मुटु फाटेर चिरा चिरा भा छ तिम्रा प्रहारले गर्दा,

नदेख्दा पत्याउदैनौ मैले देखाउन पाएको छैन।

 

मेरो जिन्दगी यस्तो स्थानमा आएर अड्किएछ,

नजर झुकाएको छैन शिर उठाउन पाएको छैन।