पदमुक्तपछि स्वतन्त्र महसुस गरेको छु : अमिक शेरचन

पदमुक्तपछि स्वतन्त्र महसुस गरेको छु : अमिक शेरचन

गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख अमिक शेरचनले रहरले भन्दा पनि बाध्यताले लिएको पद गुमेपछि आफू स्वतन्त्र भएको बताउनुभएको छ । पोखरामा पत्रकार सम्मेलन गरेर शेरचनले राजनीतिमा ६२ वर्ष बिताएको भन्दै आफूलाई कुनै पनि पदको लोभ नभएको बताउनुभयो ।  

पदबाट हटाइएकोमा उहाँले ‘अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँले आफूलाई जानकारी विनै हटाइएको र आफू हटेको कुरा सञ्चार माध्यमबाट थाहा पाएको पनि बताउनुभयो । उहाँले नेपालको राजनीति निरङ्कुशतातिर धकेलिएको पनि बताउनुभयो ।

शेरचनलाई राष्ट्रपति भण्डारीले साेमवार (हिजो) बेलुका पदमुक्त गर्नुभएको हो । गण्डकी प्रदेशको प्रमुखमा एमाले नेतृ सीता पौडेलले शपथ लिइसक्नुभएको छ । 

राष्ट्रपतिले हिजाे सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर उहाँकाे ठाउँमा गङ्गाप्रसाद यादवलाई नियुक्त गर्दै शपथ ग्रहण गराउनुभएकाे थियाे ।  

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।