काठमाडौं उपत्यकामा आज रातिबाट निषेधाज्ञा थपिँदै

काठमाडौं उपत्यकामा आज रातिबाट निषेधाज्ञा थपिँदै

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरिएको थियो। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २२ वैशाखसम्म निषेधाज्ञा जारी गरेका थिए।

एक साताको निषेधाज्ञाको समयावधि सकिएसँगै फेरि आजबाट एक साता थपिएको छ। मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

सात दिने निषेधाज्ञामा खासै फरक नआएपछि आजबाट लागू हुने निषेधाज्ञामा भने केही कडाइ गर्ने निर्णय भएको छ। जथाभावी हिडडुल र भीडभाड हुन थालेपछि निषेधाज्ञामा कडाइ गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

आज राति १२ बजेदेखि २९ वैशाख राति १२ सम्म निषेधाज्ञा जारी गरिएको छ। अघिल्लो पटकभन्दा यसपटक केही फरक आदेश जारी भएको छ।

अब साँझ खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरिदबिक्री गर्न पाइनेछैन। यसका लािग बिहान ९ बजेसम्म खरिदबिक्री गर्न पाइने छ। यस अघि साँझ पनि खरिदबिक्री गर्न पाउने व्यवस्था गरिएको थियो। बिहानको समय पनि एक घण्टा घटाएको छ।

जथाभावी घरबाट बाहिर निस्कन पाइने छैन। औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तको खरिद गर्न जाँदा पनि मास्क अनिवार्य लगाउनुपर्नेछ।

सार्वजनिक कार्यक्रम यस पटक पनि बन्द गरिएको छ। विवाह तथा ब्रतबन्धका लागि पनि १५ जनाभन्दा बढी सहभागी गराउन पाइनेछैन। त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ।

त्यस्तै, नित्य पूजाबाहेक सबै धार्मिक तथा सांस्कृति कार्यक्रममा रोक लगाइएको छ। यसअघि जात्राहरू गर्न दिइएको थियो।

सार्वजनिक तथा निजी सवारी साधान सञ्चालनमा रोक नै लगाइएको छ। एम्बुलेन्सलगायतका अत्यावश्यक ढुवानीका साधानबाहेक अन्य सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाइएको छ भने त्यसमा पनि दुई जनाभन्दा बढी बस्न पाइनेछैन।

अत्यावश्यक बाहेकका सरकारी कार्यालयमा पनि एक चौथाइ भन्दा बढी कर्मचारी उपस्थित गराउन पाइनेछैन। सरकारी कार्यालयका कर्मचारीले पनि सचिवा वा विभागीय प्रमुखले जारी गरेको सवारी पास बोक्नुपर्नेछ। ब्यांक तथा वित्तीय संस्थाका लागि पनि सिमित पास जारी गरिने भएका छन्।

पत्रकारले पनि सञ्चारविभागले जारी गरेको सवारी पास बोक्नुपर्नेछ। यसअघि सम्बन्धित संस्थाको परिचयपत्र भए पुग्ने व्यवस्था गरिएको थियो।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडामा व्यवसाय गर्न पनि रोक लगाइएको छ। यसअघि व्यवसाय सञ्चालन गर्न दिइएको थियो।

अब उपत्यकाबाट बाहिर जान पनि सम्बन्धित स्थानीय तहको सिफारिश लिनुपर्नेछ। त्यससँगै १० दिन क्वारेन्टिनमा बस्नुपर्नेछ। यसअघि उपत्यकाबाट बाहिर जान कुनै रोकटोक थिएन।

त्यस्तै, यसअघि जारी गरिएका सबै पास रद्द गरिएको छ। अब नयाँ पास बनाउनुपर्नेछ।