प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभाका थप ४ सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभा सदस्यको कोभिड १९ पीसीआर रिपोर्ट आउने क्रम जारी छ। बुधवार संघीय संसद सचिवालयले गरेको परीक्षणमा सहभागी सांसदहरुको रिपोर्ट आउन थालेको हो। पछिल्लो रिपोर्टमा थप ४ जना सांसदलाई संक्रमण पुष्टि भएको छ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट पोजेटिभ आएको छ।

‘कलेक्टिभ रिपोर्ट आउन बाँकी छ। व्यक्तिगत रुपमा उहाँहरुको मोबाइलमा म्यासेज आउन थालेको छ। एकीकृत रिपोर्ट आइसकेको छैन। बेलुकासम्म आउँछ होला,’ उनले भने, ‘चार जनाको व्यक्तिगत सम्पर्क गरेर थाहा भएको हो। अरु पनि होलान। ठ्याक्कै यति भन्ने स्थिति भएन।’

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते आह्वान गरिएको विशेष अधिवेशनका लागि सचिवालयले बुधवार र बिहीवार गरी सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरु, मर्यादापालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको हो। बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो। आज पनि स्वाब संकलन जारी छ।