बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा

बहराइनका राजकुमारको टोली सगरमाथाको चुचुरोमा

बहराईनको रोयल गार्ड सगरमाथा आरोहण अभियानले विश्वको सर्वोच्च शिखरमा सफलता प्राप्त गरेको छ । टोली आज विहान साढे ५ देखि पौने ७ बजेको अवधिमा उनी सगरमाथाको चुचुरोमा पुगेको हो ।

टोलीमा बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा पनि रहेका छन् । यसपालीको बसन्त ऋतुमा सगरमाथाको शिखरमा पुग्ने यो पहिलो अन्तराष्ट्रिय आरोहण टोली हो ।

वैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएर तीस जना शेर्पा गाइडसहित टोली चुचुरोतर्फ लागेको थियो ।

सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण सम्पन्न गराउने गरी आरोहणको व्यवस्थापन गरेको छ । गत वर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरी सकेकाले सगरमाथा आरोहण गरेको हो ।

समुद्री सतहमा वसोवास गर्ने खलिफा पर्वतारोहण गर्न रुचाउने भएकाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरी फर्किएका थिए । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।