यी दुई ‘ब्लड ग्रुप’ भएका मानिसमा कोरोना भाइरसको जोखिम उच्च

यी दुई ‘ब्लड ग्रुप’ भएका मानिसमा कोरोना भाइरसको जोखिम उच्च

विश्वभर महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (SARS-CoV-2) बाट संक्रमितको कुल संख्या १६ करोड पुग्न लागेको छ । संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत ३३ लाखभन्दा बढी भइसकेको छ ।नयाँ महामारीबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढिरहेका बेला कोभिड-१९ बारे विभिन्न अध्ययन-अनुसन्धान भइरहेका छन् ।

यसै क्रममा रक्त समूह (blood group) र भाइरसको जोखिमलाई केन्द्रमा राखेर विभिन्न अनुसन्धान/सर्वेक्षण पनि गरिएका छन् । र हालसम्मका अध्ययन-अनुसन्धानले चारवटा रक्त समूहमध्ये दुईवटा समूहमा कोरोना भाइरसको जोखिम बढी हुने देखाउँछन् ।

नाट कम्युनमा प्रकाशित एक लेख अनुसार ‘ओ’ (O) रक्त समूह भएका मानिसमाझ कोरोना भाइरसको संक्रमण अन्य समूहका मानिसभन्दा कम हुन्छ । त्यस्तै ‘एबी’ (AB) रक्स समूह भएका मानिसमा ज्यान जाने जोखिम अन्य समूहको भन्दा बढी हुने उक्त लेखको निष्कर्ष छ ।

यसबाहेक, भारतको काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च (सिएसआईआर) ले हालै एउटा अनुसन्धान प्रतिवेदन (रिसर्च पेपर) प्रकाशित गरेको छ ।

सिएसआईआरको नयाँ अध्ययन अनुसार ‘एबी’ र ‘बि’ रक्त समूहका मानिस बढी सतर्क हुनुपर्छ । अर्थात् अन्य रक्त समूहको तुलनामा ‘एबी’ र ‘बि’ भएका मानिसलाई कोरोनाले बढी असर गर्ने अध्ययनमा संलग्न वैज्ञानिकले दाबी गरेका छन् ।

रिसर्च पेपरमा यो पनि भनिएको छ- ‘ओ’ रक्त समूहका मानिसलाई कोरोना भाइरसको असर सबैभन्दा कम हुन्छ । यो रक्त समूहका मानिसमा कोरोनाका लक्षण खासै नदेखिने र देखिइहाले भने पनि सामान्य लक्षण देखिने पेपरको निष्कर्ष छ ।

त्यस्तै, परीक्षण गरेका मानिसमध्ये ‘एबी’ रक्त समूहकालाई सबैभन्दा बढी कोरोना देखिएको र ‘बि’ समूहका मानिसलाई योभन्दा अलि कम देखिएको पनि अध्ययनबाट पुष्टि भएको छ । तर रक्त समूह ‘ओ’ भएका मानिसमा सबैभन्दा कम कोरोना पोजिटिभ देखिएको छ ।

तर सिएसआईआरका वरिष्ठ फिजिसियन डा. एसके कालराले आफूहरुले गरेको सर्वेक्षण एक नमूमा मात्रै भएको र ‘ओ’ रक्त समूहका मानिसमा संक्रमणसँग लड्ने क्षमता अन्य मानिसकोभन्दा बढी हुने भनेर ठोकुरा गर्न हतारो हुने बताएका छन् ।

यता भारतमा चर्चित प्याथोलोजिस्ट डा. अशोक शर्माले यो सब कुरालाई मानिसको जेनेटिक स्ट्रक्चर (अनुवांशिक संरचना) ले निर्धारण गर्ने बताउँछन् । ‘थैलेसिमिया (रगतसँग जोडिएको अनवांशिक रोग) भएका मानिसहरु मलेरियाबाट निकै कम प्रभावित हुन्छन्’, उदाहरण दिँदै उनले भने, ‘कुनै-कुनै परिवारमा एक सदस्यबाहेक सबैलाई कोरोना भएको पाइन्छ । जेनेटिक स्ट्रक्चरका कारण नै यस्तो भएको हुन सक्छ ।’

‘यो भाइरसविरुद्ध ‘ओ’ रक्त समूहका मानिसको इम्युनिटी सिस्टमले एबी र बि समूहका मानिसको तुलनामा बढी प्रतिक्रिया जनाएको पनि हुन सक्छ’, शर्माले थपे, ‘तर यसबारे थप अनुसन्धान हुन आवश्यक छ ।’

शाकाहारीलाई भन्दा मासाहारीलाई बढी जोखिम

सिएसआईआरको अध्ययनले शाकाहारी मानिसको तुलनामा मांसाहारी मानिसलाई कोभिड-१९ को जोखिम बढी हुने समेत देखाउँछ । भारतभर नमूनास्वरुप करिब १० हजार मानिसमा चिकित्सकले गरेको अध्ययन तथा विश्लेषण अनुसार मासु खाने मानिसहरु बढी संक्रमित भएका थिए। यसको मुख्य कारण शाकाहारी भोजनमा फाइबर(रेसा)को मात्रा उच्च हुनु हो ।

फाइबरयुक्त खाना एन्टिइन्फ्लेमेटरी (जलन कम गर्ने प्रकारको) हुन्छ । यसले एकातिर संक्रमणपछि गम्भीर हुनबाट बचाउँछ भने अर्कोतिर संक्रमण हुने जोखिम पनि कम हुन्छ ।