निर्मला हत्या प्रकरण : विशाल चौधरीमाथि कुटपिट, प्रदीपलाई धम्की

निर्मला हत्या प्रकरण : विशाल चौधरीमाथि कुटपिट, प्रदीपलाई धम्की

कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार र हत्या घटना अनुसन्धानका क्रममा पक्राउ परेका विशाल चौधरीमाथि कुटपिट भएको यो समाचार गोकुल जोशीले नेपाल खबरमा लेखेका छन ।स्थानीय युवाहरुले प्रहरीलाई आफ्नो नाम किन दिएको भन्दै कुटपिट गरेको विशालले बताएका छन्।

भीमदत्त नगरपालिका–१८ का विशालमाथि उनको घर नजिकै सालघारीको एक मदिरा पसलमा कुटपीट भएको हो। कुटपिटपछि उनी न्यायका लागि अधिकारकर्मी, प्रहरी र कानुनको शरणमा पुगेका छन्। कुटपीटबाट विशालको टाउको, मुख र पिठ्युमा चोट लागेको छ।

मदिरा सेवन गरेका विशालले आफुलाई स्थानीय देव बराल, विकास बराल लगायतका तीन जनाले कुटपिट गरेको बताए। ‘म विवाहबाट मदिरा सेवन गरेर गीता बस्नेतको पसलमा बसेको थिए, ‘उनले भने, ‘निर्मला हत्याकाण्डमा हाम्रो नाम किन प्रहरीलाई दिइस् भन्दै उनीहरुले मलाई कुटपिट गरे।’

विशालको परिवारले कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन्। उनका अभिभावकले अधिकारकर्मी शारदा चन्द, प्रेमवती राना, कानुन व्यवसायी बीरबहादुर विष्ट र प्रहरीसँग भेटघाट गरेर न्यायका लागि माग गरेका छन्।

यस्तै निर्मला हत्याकाण्डको अनुसन्धानका पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदीप रावलले आफूलाई स्थानीय राजन निरौला र निखिल बमले धम्की दिने गरेको बताए।

‘म काठमाडौँ प्रहरीको हिरासतमा रहेका बेला लागु औषध प्रयोगकर्ता साथीहरुको नाम मागेका थिए, ‘प्रदीपले भने, ‘मैले लागु औषध प्रयोगकर्ता सबैको नाम दिएको थिए, उनीहरु पक्रिन थालेपछि हामीमाथि कुटपीट र धम्की आउन थालेको छ।’विशालमाथी कुटपिट र प्रदीपलाई आएको धम्कीको विषयमा अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्।

प्रहरी भन्छ, ‘मदिराका विषयमा दोहोरो झडप भयो’

विशालमाथि निर्मला हत्याकाण्डका बिषयमा कुटपिट नभई लागुऔषध दुव्र्यसनीको विषयमा एकआसपमा कुटपीट भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

मदिरा सेवनका विषयमा युवाहरुबीच आपसी विवाद हुँदा झगडा भएर दुवैतर्फ कुटपिट भएको एसपी कुवेर कडायतले बताए।

पहिलेदेखि लागु औषध दुर्ब्यसनी र चोरी डकैतीमा लत परेका विशाल र उनका साथीहरुबीचको विवाद निर्मला हत्याकाण्डसँग जोड्न नहुने उनको भनाई छ।