निर्मलाबारे जिम्मेवार निकायको रिपोर्टले प्रहरीमाथि अर्को प्रश्न

निर्मलाबारे जिम्मेवार निकायको रिपोर्टले प्रहरीमाथि अर्को प्रश्न

निर्मला पन्तको हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमूना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ।

राष्ट्रिय मानवअधिकार आयोगले डीएनए नमूना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।

‘मृतक निर्मला पन्तको शरीरबाट डीएनए परीक्षणका लागि ‘भजाइनल स्वाब’ लिँदा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘मूलतः नमूनाहरू संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो ।’

यो प्रक्रियाबाट डीएनए परीक्षण गर्दा परिणाम सही नआउने प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिन्न’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो ।’

अनुसन्धानका क्रममा वाई, एसटीआर प्रविधिबाट मात्र डीएनए परीक्षण गरिएको खुलेको छ । सामान्यतया वाई, एसटीआर प्रविधिबाट डीएनए परीक्षण गर्दा वंश, समूह पहिचान गर्न सघाउ पुग्ने तर व्यक्ति पहिचान नहुने प्रतिवेदनमा उल्लेख छ ।

‘हाल तीन किसिमका डीएनए परीक्षण प्रचलित छन्, अटोसोमल एसटीआर, वाई एसटीआर र माइटोकोन्ड्रियल सिक्वेन्सिङ’, प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि दुई व्यक्तिमा समान नहुने अटोसोमल एसटीआर अपराधी पहिचान गरिने मुख्य डीएनए परीक्षण हो, पुरुषमा मात्र हुने वाई एसटिआर जबरजस्ती करणी केसमा प्रभावकारी हुन्छ भने माइटोकोन्ड्रियल सिक्वेन्सिङ अत्याधिक बिग्रिएका नमुना परीक्षणमा महत्वपूर्ण हुन्छ ।’

निर्मलाको हत्यापछि संकलन गरिएको ‘भजाइनल स्वाब’को नमुनामा महिला स्वाब र पुरुष बीर्य अलग–अलग गर्नुपर्ने भए पनि मिश्रित रुपमा नै परीक्षण गरेको खुलेको छ ।

जसबाट वंश, समूह छुट्याउने परीक्षण भएको तर व्यक्ति पहिचान नभएको प्रतिवेदनमा उल्लेख छ। ‘संकलिन भिजाइनल स्वाब नमूनामा महिला स्वाब र पुरुष बीर्य मिश्रित रहेको अवस्थामा महिला स्वाब र पुरुष बीर्य अलग गरी परीक्षण गर्नुपर्ने भए पनि मिश्रित रुपमै परीक्षण गरिएको पाइयो’, प्रतिवेदनमा थप भनिएको छ, ‘जसबाट वंश–समूह छुट्याउने वाई एसटिआर परीक्षण सम्भव भयो तर अटोसोमल एसटीआर (जसले व्यक्ति पहिचान गर्छ) त्यो सम्भव नभएको पाइयो।’दैनिक नेपाल