लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा दुई जना पक्राउ

कञ्चनपुर | कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट भुडाबाट खटिएको टोलीले ८ दशमलव ६९० ग्राम खैरो हिरोईनसहित भीमदत्त नगरपालिका ६ ऐठपुरका ३० वर्षीय असोक सुनार र सोही स्थानका २० वर्षीय केशव चन्दलाई पक्राउ गरेको हो।

उनीहरूलाई बेलौरी नगरपालिका १० भुडास्थित थापाचोकमा भारतबाट से ४ प ७५२७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा पक्राउ गरिएको हो। उनीहरूको साथबाट ३ वटा मोबाइल फोन, २ वटा एटीएम र १२८ नेपाली रूपैयाँसमेत बरामद गरिएको छ। 

उनीहरूलाई थप कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।