संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन हाहाकार

संघीय सरकारमा चारजना मन्त्री भएको सुदूरपश्चिममा अक्सिजन हाहाकार

धनगढी । सुदूरपश्चिममा पछिल्लो दुई सातायता कोरोना संक्रमणमा कारण १५ जनाभन्दा बढीले ज्यान गुमाइरहेका छन् । ज्यान गुमाउनेमा कैलाली कञ्चनपुरका बढी छन् । प्रत्येक जिल्लाका सरकारी अस्पताल संक्रमितले भरिएका छन् ।

अस्पतालहरुले अक्सिजनको अभावमा नयाँ संक्रमितलाई भर्ना गर्न समस्या हुने बताउँदै आएका छन् । अक्सिजनकै अभावमा दैनिक तीन÷चारजनाले ज्यान गुमाएको खबर सार्वजनिक भइरहेको छ । सुदूरपश्चिममा अहिले दैनिक १५० वटा मात्रै अक्सिजन सिलिण्डर उत्पादन भइरहेको छ ।

त्यो पनि कतिपय अवस्थामा अक्सिजन प्लान्टले काम गरिरहेको छैन । त्यसैले चितवन, नेपालगञ्जबाट अक्सिजन भरेर ल्याउने काम भइरहेको छ । अहिलेकै अवस्थामा सुदूरपश्चिममा दैनिक सात सय अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । जुन उत्पादनको तुलनामा निकै कम हो ।

वेड पनि उस्तै हाहाकार छ । वेडको अभावमा संक्रमित भुइमै सुत्न बाध्य छन् । यसबाहेक पर्याप्त मात्रामा स्रोतसाधन नहुँदा संक्रमितलाई समयमै अस्पतालसमेत पुर्याउन सकिएको छैन । पछिल्लो समय सरकारी संयन्त्रभन्दा निजी संघसंस्था अक्सिजन सिलिण्डरको जोहो गर्न सक्रिय छन् ।

कञ्चनपुरको महाकाली अस्पताललाई व्यावसायीले उपचार र अक्सिजनका लागि आर्थिक सहयोग गर्न थालेका छन् । यसैगरी धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पनि अक्सिजन खपरद गर्नको लागि जनस्तरबाट सहयोग हुन थालेको छ । उक्त अस्पतालमा पनि अक्सिजन नपाएर विरामीहरुको विचल्लीमा पर्न थालेका छन ।

अक्सिजन नपाएर मानिसहरु ज्यान गुमाउन थालेपछि नागरिकहरु सरकार प्रति आक्रोस पोखि रहेका छन ।सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजन प्लान्टका लागि विभिन्न अस्पताललाई रकम दिए पनि सरकारी प्रक्रियामा जाँदा लामो समय लाग्ने सम्भावना छ । त्यसो त सुदूरपश्चिमबाट संघीय सरकारमा चारजना मन्त्री छन् ।

उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगारमन्त्री गौरीशंकर थारु, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र वनमन्त्री प्रेम आले छन् । तर, चारमन्त्री मन्त्री नै संघीय सरकारमा भएको प्रदेशमा अक्सिजनकै अभावमा नागरिकले ज्यान गुमाउनुपरेकोमा नागरिकले उनीहरुको आलोचना गर्दै आएका छन् ।

उनीहरुले अक्सिजनलगायत स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न नसकेको भन्दै आलोचना भइरहेको हो । प्रदेश सरकारको समेत प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।