प्रतिपक्षी दलसँग भएको समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता पछि पनि सरकारको आलोचना

प्रतिपक्षी दलसँग भएको समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता पछि पनि सरकारको आलोचना

धनगढीः सरकारले प्रतिपक्षी दलसँग भएको समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि प्रतिपक्ष दलका सांसदहरूले प्रदेश सरकारको आलोचना गर्न छोडेका छैनन्। सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको आजको छलफलमा पनि प्रतिपक्ष दलका सांसदले सरकारको चर्को आलोचना गरेका छन्।

प्रदेशसभा सदस्यद्वारा प्रस्तावित योजनाहरूको समान सम्बोधन हुनुपर्ने, सरकारले आफूसँग राखेको डल्लो बजेटलाई शीर्षक तथा कार्यक्रममा विनियोजन गर्नुपर्ने, मन्त्रालयको बजेट कार्यान्वयनका क्रममा कार्यविधि निर्माण गर्दा प्रतिपक्षी दलहरूलाई समेत सहभागी गराइनुपर्ने, सरकारका सबै गतिविधि विधि र प्रक्रिया ननाघ्ने गरी सञ्चालन गर्न सरकार र प्रतिपक्ष दलबिच बुधवार समझदारी भएको थियो। समझदारीका बाबजुद पनि प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सरकारको खरो आलोचना गरी रहेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद टिकेश्वरी साहले सांसदले दिएका योजनाहरूलाई प्रदेश सरकारले बजेटमा सम्मान जनक रूपमा समावेश नगरेको भन्दै आपति जनाइन्। उनले जन निर्वाचित सांसदहरूले दिएका योजनाहरू बजेटमा नसमेट्नुले सरकार अधिनायकबाद तर्फ गइरहेको अनुभूति भइरहेको बताइन्। 

नेपाली कांग्रेसकी सांसद अम्बी थापाले पनि सांसदका योजनाहरूलाई सरकारले समेट्न नसकेको भन्दै आलोचना गरिन्। आफूले दिएका योजनाहरू बजेटमा नपर्नुमा सरकारले प्रतिपक्षीको आँखाले हेरेको टिप्पणी गरिन्। प्रदेश ७ का सांसदको प्रदेश ७ को सरकारले सम्बोधन नगरेपछि यहाँका सांसदले योजना लिएर कहाँ जाने भन्दै उनले प्रश्न गरिन्।

यता सत्ता पक्षका सांसदहरूले भने बजेटको स्वागत गरेका छन्। बजेटमा यस प्रदेशका केही महत्त्वपूर्ण कुरा प्रदेश सरकारले महत्वका साथ उठाएको उल्लेख गर्दै सत्ता पक्षका सांसद लाल बहादुर खड्काले बजेटको प्रशंसा गरे। उनले स्वास्थ्य, रोजगार लगायतका महत्त्वपूर्ण विषयहरूलाई बजेटमा प्राथमित्ता दिइएको बताए। तर बजेटको कार्यान्वयन पक्षमा आसंक गर्दै उनले प्रदेश सरकारलाई यस तर्फ गम्भीर हुनुपर्ने सुझाव दिए।