हिमपातले विद्यालयको छानो भत्कियो

हिमपातले विद्यालयको छानो भत्कियो

बाजुरा : लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ । 

चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको विद्यालयले जानकारी दिएको छ । 

विद्यालयको दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठनपाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक पदमलाल रेग्मीले बताए । 

कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै रु ६ लाख बराबरको सामानमा क्षति भएको विद्यालयका सहयोगी नन्दराम विष्टले जानकारी दिए । बाजुरामा पाँच दिनदेखि भारी हिमपात भइरहेको छ ।