नेपाल वायु सेवा निगमको जहाज लगातार ४ दिन बेइजिङ उड्ने

नेपाल वायु सेवा निगमको जहाज लगातार ४ दिन बेइजिङ उड्ने

बेइजिङः नेपालमा कोभिड-१९ महामारीको दोस्रो लहरले कहर वर्षाइरहेको छ । दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या सँगसँगै मृत्यु दर पनि बढ्दैजाँदा देशवासी मात्रै नभइ प्रवासी तथा विदेसिएका नेपालीहरू घरदेश र घरपरिवार सम्झेर चिन्तित हुनु स्वाभाविक हो । मुलुकको पछिल्लो अवस्थाको सामना गर्न र कोभिड महामारीको नियन्त्रण तथा रोकथामका लागि कसरी सहयोग गर्न सकिन्छ भनी लागिपरेका छन् ।
 
चीनमा रहेका नेपाली, सह्रदयी चिनियाँ तथा बेइजिङस्थित चीनका लागि नेपाली दूतावास पनि नेपालमा कोभिड-१९ को नियन्त्रण तथा पछिल्लो अवस्थामा देखिएको अक्सिजन सिलिण्डरको अभाव र आवश्यक चिकित्सा सामग्री नेपालसम्म पुर्‍याउन सक्रिय रूपमा जुटिरहेका छन् ।
 
यस क्रममा नेपाली दूतावासले नेपालमा तत्काल आवश्यक अक्सिजन सिलिण्डर, भेन्टिलेटर्स तथा कन्सनट्रेटर्सहरूका लागि विभिन्‍न चिनियाँ निकायसँग सम्पर्क गर्ने तथा प्राप्त सहयोग संकलन गर्ने काम गरिरहेको छ । राजदूत महेन्द्र बहादुर पाण्डेले चिनियाँ विकास सहायता निकायका उपाध्यक्ष तङ पोछिङसँग मे १० तारिखमा भेट गर्दै चीन सरकारले नेपाललाई कोभिड-१९ को नियन्त्रणका लागि प्रदान गरेको पाँच मिलियन चिनियाँ युआन बराबरको ३,५ सय वटा अक्सिजन सिलिण्डरमध्ये ४०० सिलिण्डर र १० वटा भेन्टिलेटर ग्रहण गरेका थिए ।
 
यी चार सय सिलिण्डरसँगै १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर लिएर गत मङ्गलबार बिहान (बैशाख २८) बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाज काठमाण्डु फर्केको थियो । यसका साथै यही जेठ १ देखि ४ गतेसम्म निगमको विमान बेइजिङमा स्वास्थ्य सामग्री लिन आउने भएको छ ।
 
विमानले दैनिक ५५० वटा सिलिण्डरका साथै चिनियाँ नागरिक तथा संस्थाको सहयोग र चीनमा रहेका नेपालीको सहयोगबाट संकलन भएका स्वास्थ्य सामग्री बोक्ने बताइएको छ । साथसाथै साङहाईमा विगत लामो समयदेखि बस्दैआएका राज नारायण शाहले दुई लाख चिनियाँ युआन बराबरको ४४ वटा कन्सनट्रेटर्स सहयोग गरेका छन् ।
 
चिनियाँ संस्था चसिनले २२, क्‍वाक्वाले १०, र होङसी शिवम सिमेन्टले सहयोग गरेको २०० मा १७३ गइसकेको बाँकी २७ वटा यस पटकको खेपमा जाने कूटनीतिक नियोग उपप्रमुख सुशील कुमार लम्सालले जनाए । समग्रमा बैशाखको अन्तसम्ममा चीनमा रहेका नेपालीको सहयोगमा ५४० वटा सिलिण्डर तथा ३२३ वटा कन्सनट्रेटर्स संकलन भएको पनि बताए । यसबाहेक नेपाली व्यवसायीहरूको खरिद प्रक्रिया पनि जारी रहेको बताए । 

चिनियाँ सरकारको अनुदान सहयोगबाहेक दूतावासले यी स्वास्थ्य सामग्री संकलन थाल्नुअघि चीनमा रहेका नेपालीबीच अनौपचारिक रूपमा नेपालमा देखिएको विषम परिस्थितिमा के कसरी सहयोग गर्न सकिन्छ भनी अनलाइन बैठकको आयोजना गरेको थियो । सोही बैठकमा साङहाई निवासी राज नारायण शाहले रकम दुई लाख युआन सहयोग गर्ने बताएका थिए । उनको यो सदाशयताबाट ४४ वटा कन्सनट्रेटर्स प्राप्त भएको दूतावासले जनाएको छ ।

कोरोनाको दोस्रो लहरसँगै अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरूलाई सम्बन्धित मुलुकसँग सहयोग जुटाउनका लागि पहल गर्न भनिएको थियो । 

बेइजिङ दूतावासले चिनियाँ विकास सहायता निकायलाई अक्सिजन जेनेरेशन प्लान्टका लागि पाँच मिलियन युआनको सहयोगका लागि पनि लिखित अनुरोध गरेको छ । साथै चिनियाँ पक्ष सकारात्मक रहेको बताइएको छ । यसबाहेक, दूतावासले चिनियाँ परराष्ट्र मन्त्रालयलाई लिक्विड अक्सिजन, अक्सिजनसहितको सिलिण्डर, अक्सिजन जेनेरेशन प्लान्टलगायत मानवीय सहयोग तत्काल उपलब्ध गराइदिन विशेष अनुरोध गरेको छ । 

यसै गरी चीनको केन्द्र सरकारले तिब्बत तथा सछ्वान प्रान्तीय सरकारलाई नेपाललाई आवश्यक सहयोग गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको बताउँदै लम्साले भने, ‘तिब्बत सरकारले केही भरिएका अक्सिजन सिलिण्डर सीमासम्म उपलब्ध गराउने तयारी गरेको जानकारी प्राप्त भएको छ ।’

साथसाथै, नेपालमा कोरोना महामारी भयावह बन्दैगएको वर्तमान अवस्थामा चीनबाट यस विरूद्धको खोप नेपालमा पठाउन राजदूत महेन्द्रबहादुर पाण्डे सक्रिय रहेका छन् । उनको पहलमा यसै मे महिनाको अन्तसम्ममा दश लाख खोप नेपाल भित्रिने लगभग पक्का भइसकेको छ । -इकागज