भवन नहुँदा समस्या अधिकांश स्थानीय तहका कार्यालय भाडाको घरमा

भवन नहुँदा समस्या अधिकांश स्थानीय तहका कार्यालय भाडाको घरमा

अछामको तुर्माखाँद गाउँपालिकाको कार्यालय स्थानीय तहको निर्वाचन सम्पन्न भएदेखि नै भाडाको घरबाट सञ्चालन भइरहेको छ । वडा नम्बर २, ४, ५, ६, ७ र ८ को कार्यालय पनि भाडाकै घरमा छन् । गाउँपालिकाले घरभाडाबापत मात्रै वर्षमा आठ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको छ । 

यस्तै, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख देवराज देवकोटा र उपप्रमुख अम्बिका चलाउनेको कार्यकक्ष इलाका वन कार्यालयको भवनमा छ । साबिक विनायक गाविसको पुरानो भवनबाट नगरपालिकाको प्रशासनिक काम हुँदै आएको छ । नौवटा वडामध्ये वडा नम्बर ६ र ७ बाहेक  सबै वडा कार्यालयले भाडाकै घरबाट सेवा दिइरहेका छन् । 

ढकारी गाउँपालिकाले पशु, स्वास्थ्य, शिक्षा, कृषि, खेलकुद र महिला तथा बालबालिका शाखा सञ्चालनका लागि निजी घर भाडामा लिएको छ । साँघुरो घरमा बसेर सेवा दिनुपर्दा कर्मचारीलाई समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर वलीले बताए । यो गाउँपालिकाको वडा नम्बर ४  र   ६ आफ्नो भवन छन् । त्यसबाहेक अन्य वडा कार्यालय भाडाकै घरमा सञ्चालित छन् । ढकारीले भाडाकै लागि वार्षिक सात लाख रुपैयाँ खर्च गर्ने गरेको छ ।

तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र ढकारी गाउँपालिकाजस्तै अछामका अन्य सातवटा स्थानीय तहमा पनि आवश्यक भौतिक संरचना नहुँदा भाडाको घरबाट सेवा दिनुपर्ने बाध्यता छ । जसका कारण कर्मचारी र सेवाग्राही दुवैलाई सास्ती भइरहेको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले बताए । 

यस्तै, मल्लेख गाउँपालिकाले पनि जनता उच्च माविको भवनबाट कार्यालय सञ्चालन गर्दै आएकोे जनाएको छ । ‘क्याम्पसको भवनमा गाउँपालिकाको कार्यालय राखेका छौँ । विषयगत शाखाहरूले पनि यही भवनबाट सेवा दिइरहेका छन्,’ मल्लेखका अध्यक्ष लोकबहादुर बोहराले भने ।  

मंगलसेन र साँफेबगर नगरपालिका तथा चौरपाटी र रामारोशन गाउँपालिकामा समेत पर्याप्त भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या भइरहेको छ । साभार : नयाँपत्रिका