चक्रवातका कारण भारतको गुजरातमा तीन जनाको ज्यान गयो, १६ हजारभन्दा धेरै झुपडी भत्किए

चक्रवातका कारण भारतको गुजरातमा तीन जनाको ज्यान गयो, १६ हजारभन्दा धेरै झुपडी भत्किए

अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको गुजरात राज्यकाे जनजीवन पनि अस्तव्यस्त भएको छ । तीव्र गतिको हावाहुरी र ठूलाे वर्षाका कारण गुजरातमा तीन जनाको ज्यान गएको छ ।

हवाहुरी र वर्षाका कारण ४० हजारभन्दा धेरै रुख भाँचिएका छन् भने १६ हजार पाँच सयभन्दा धेरै झुपडी भत्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि चक्रवातका कारण मुम्बईमा १२ जनाको ज्यान गएको थियो भने एक लाख ५० हजार जना विस्थापित भएका थिए ।

यसैबीच खराब माैसमसँग जुध्दै भारतीय जलसेनाले मुम्बईमा अरब सागरबाट एक सय ७७ जनाकाे उद्धार गरेकाे छ । ती सबै जना ढुङ्गामा सवार थिए र चक्रवातका कारण समुद्रमा अड्किएका थिए ।

चक्रवातले पारेको असरबारे केन्द्रीय गृह मन्त्री अमित शाहले गुजरात, महाराष्ट्र र राजस्थानका मुख्यमन्त्रीसँग छलफल गर्नुभएको छ । केरला, कर्नाटक, गोवा र महाराष्ट्रपछि साेमवार राति चक्रवात गुजरातमा प्रवेश गरेको थियो । अबको केही घण्टापछि चक्रवात कमजोर हुँदै जाने अनुमान गरिएको छ ।