कैलाली । सुदूरपश्चिम प्रदेशमा २२ हजारभन्दा बढीले कोरोना जितेका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना पुष्टि भएका ३४ हजार, ६ सय १ जना मध्ये २२ हजार ५२ जनाले कोरोना जितेका सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
जेठ ७ गते साँझ सम्मको तथ्याङ्क अनुसार कैलालीका ९ हजार, ६ सय ९, कञ्चनपुरका ३ हजार, ८ सय २८, अछामका २ हजार, १ सय ८०, डोटीका १ हजार, ८ सय ३८, बझाङका १ हजार, १ सय ३९ जनाले कोरोना जितेका छन् । यस्तै बैतडीका १ हजार, १ सय ७६, डडेलधुराका १ हजार ७, बाजुराका ७ सय १४ र दार्चुलाका ४ सय ९३ जनाले कोरोना जितेका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सुदूरपश्चिम बाहेक अन्य जिल्लाका ५४ जना र अन्य देशका २ जनाले पनि सुदूरपश्चिमबाट कोरोना जितेका सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो तथ्याङ्क हेर्दा सुदूरपश्चिममा कोरोना निको हुने दर ६३.७३ प्रतिशत रहेको देखिन्छ भने ३५.४१ प्रतिशत अझै सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिले प्रदेशमा १२ हजार, २ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन्, भने ४ सय १८ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुने दर १.२० प्रतिशत रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट १ लाख, ७० हजार, ६ सय ५८ र एन्टिजेन विधिबाट ३७ हजार, २८ जना गरी जम्मा २ लाख, ७ हजार, ६ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।
कोरोना परीक्षण गरिएका मध्ये १६.६६ प्रतिशत नागरिकमा कोरोना पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।