कैलालीका किसानलाई धानको बिउ राख्न चटारो

कैलालीका किसानलाई धानको बिउ राख्न चटारो

कैलालीका कृषकहरूलाई धानको बिउ राख्न चटारो सुरु भएको छ । लकडाउनकै बिच बर्खा सिजन सुरु भएकाले अहिले कृषकहरूलाई धानको बिउ राख्न चटारो सुरु भएको हो । कोरोनाको त्रासका बिच उनीहरू धानको बिउ राख्ने काममा व्यस्त भएका छन् । कति पयले किसानले आकाशे पानी, नहरको पानी र नहर नलाग्ने ठाउँमा स्थानीयले आफ्नै बोरिङबाट पानी लगाएर धानको बिउ राख्ने काम गरीरहेका छन् ।

 

जेठ महिनाको पहिलो साता भित्रमा कति पय किसानहरू धानको बिउ राखी सकेका छन् भने कतिपय राख्ने तयारी गर्दे गरेको किसानहरू बताउँछन् । खडेरी पर्ने महिना भनेर चिनिने जेठमा यो वर्ष भने केही दिन देखी वर्षाले साथ दिएको छ । कतिखेर पानी पर्ला र धानको बिउ राख्न पाइएला भनेर प्रतीक्षामा बसेका कृषकहरूले वर्षा भए देखी धमाधम धानको बिउ राख्न सुरु गरेका छन् ।

 

नहर र बोरिङको भूमिगत पानी प्रयोग गरेर धानको बिउ राख्नु पर्ने बाध्यता भए पनि यसपालि वर्षाले साथ दिए पछि आफूहरूलाई केही राहत मिलेको गौरीगंगाा नगरपालिका ११ का किसान प्रेम चौधरीले बताए । आफूले वर्षाको पानीले नै धानको बीउ राखेको उनले बताए । आकाशे पानीको साथले धानको बिउ राख्न सजिलो भएको अर्का किसान किरण थारुले बताए ।

 

जेठको पहिलो साता धानको बीउ राखेका किसानहरू असार महिना देखी रोपाइमा व्यस्त हुने गर्दछन् । यता कृषि ज्ञान केन्द्र कैलालीले भने सिफारिस गरिएका धानका जातहरू मात्र लगाउन आग्रह गरेको छ । सरकारले विभिन्न जातहरू धानका बीउहरू सिफारिस गरेको हुँदा पालिकाको कृषि शाखा सँग परामर्श लिएर मात्र धानको बीउहरू राख्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताए ।

 

ग्रामीण क्षेत्रका अधिकांश भागमा अहिले पनि परम्परागत शैलीमा गोरुले नै जोतेर बिउ राख्ने,रोपाइँ गर्छन् भने कतिपयले आधुनिक कृषि यन्त्रको पनि प्रयोग पनि गर्ने गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रका साबिक भजनी, टीकापुर, नारायणपुर ,धनसिंपुर, जानकीनगर, जोशीपुर, बसौटी, पवेरा, हसुलिया लगायत क्षेत्रमा धानको उत्पादन बढी हुने गरेको छ । कृषक आफूलाई आवश्यक पर्ने धान घरमा भण्डार गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्छन् ।

 

धान उत्पादनका लागि उर्वर जग्गा रहेको कैलाली जिल्लामा झन्डै ७२ हजार पाँच हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । कैलाली जिल्लामा उत्पादन हुने धान पहाडी जिल्लामा समेत आपूर्ति हुने गरेको छ ।