अवैध संरचना भत्काउनुपर्ने माग गर्दै कञ्‍चनपुर बन्द

अवैध संरचना भत्काउनुपर्ने माग गर्दै कञ्‍चनपुर बन्द

कञ्चनपुर : निर्मला हत्याकाण्डविरुद्धको आन्दोनका कारण केही महिना अघि लामो समयसम्म बन्दको मार खेपेका महेन्द्रनगरबासी फेरि बन्दको चपेटामा पर्ने भएका छन्।

महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग राखेर मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरिएको छ। 

अवैध लिज विरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेका हुन्। बन्दका कारण सदरमुकाम महेन्द्रनगर बिहानैदेखि ठप्प छ।

संयुक्त युवा विद्यार्थी संघर्ष समिति महेन्द्रनगरले गरेको बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ। सदरमुकामदेखि छुट्ने सवारी साधन ठप्प भएका छन्। भने स्कुल, कजेललगायत सरकारी कार्यालय समेत बन्द भएका छन्।

आन्दोलनरत विद्यार्थी बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन्। सार्वजनिक तथा निजी सवारी साधन ठाउँको ठाउँमा रोकिएका छन्। आन्दोलनकारीले सवारी साधनका साँचो थुतेर रोकेका छन्।

अनिश्चितकालिन बन्द आह्वान गरिएपछि बिहानैदेखि महेन्द्रनगरको जनजीवन प्रभावित भएको छ। अत्यावश्यक काममा हिँडेका सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट आएका मानिस बन्दका कारण बीच बाटोमा अलपत्र परेका छन्।