घोडाघोडीमा कल्भर्ट भत्किदा स्थानीय लाई सास्ती

घोडाघोडीमा कल्भर्ट भत्किदा स्थानीय  लाई सास्ती

कैलालीको घोडाघोडी नगरपालिका ३ स्थित भजनी रोड देखी वरैया जोड्ने सडकमा निर्माण गरिएको कल्भर्ट भत्किदा स्थानीयलाई आवत जावतमा सास्ती हुने गरेको छ ।

कल्भर्ट भत्किदा उक्त रोड भएर आवत जावत गर्ने बरैया,जुरपानी लगायतका स्थानीयले विगत एक महिना देखि सास्ती झेल्दै आएका हुन । त्यसो त भजनि रोड भएर चल्ने सवारी साधन पनि प्राय खाल्डाखुल्डी भइरहने भजन रोड छोडेर त्यैबाट आवतजावत गर्ने गरेका छन् । तर विगत एक महिना देखी उक्त सडकमा भएको पुल भत्किदा निर्माणमा कसैको पनि चासो गएको देखिँदैन ।

यात्राका लागि कहिल्यै सजिलो नरहने सुखड भजनी सडक खण्ड भएर चल्ने ट्याक्टर टिपर लगायतका ठुला सवारी साधन त्यही सडक भएर आवत जावत गर्ने भएकाले पनि कल्भर्ट छिटै भत्किएको स्थानीयले बताएका छन् । वर्षा याम आएपछि उक्त सडक भएर सुखड बजार सम्म आवत जावत गर्ने यात्रुहरूलाई अव झनै असुविधा हुने भएको छ ।पछिल्लो सममा कोरोना महामारीका कारण जिल्लाभर जारी निषेधाज्ञाका कारण उक्त बाटोमा भएको कल्भर्ट तत्काल निर्माण हुने छाँटकाँट पनि देखिँदैन । जारी निषेधाज्ञाका कारण पनि कल्भर्ट निर्माणको कुनै पहल हुन नसक्ने देखिएपछि स्थानीयलाई असुविधा झेल्न बाहेक अर्को विकल्प तत्काल नदेखिएको हो ।

त्यसो त भर्खरै सञ्चालनमा आएको घोडाघोडी नगर पालिकाको कोभिड अस्पतालमा सेवा लिन आउँदा त्यहाँका स्थानीयलाई त्यही बाटो भएर आउनुपर्ने हुन्छ । स्थानीय एवम् समाजसेवी सुरेश परियारले कहिदिन पहिले मात्रै उक्त बाटो बाट बिरामी लिएर आउनुपर्ने एम्बुलेन्सले कल्भर्ट नहुँदा टाढाबाट घुमेर आउनु परेको बताए । त्यसो त भजनि रोड छोडेर प्राय सवारी साधनहरू त्यही रोड भएर चल्ने गरेका थिए । एक त पुरानो कल्भर्ट त्यसमा पनि ढुङ्गा माटो लोड भएर चल्ने टिपर तथा ट्याक्टर को भार थेग्न नसकेर पनि भत्किएको परियारले बताए । तर कल्भर्ट भत्किदा घोडाघोडी नगर पालिकाका केही गाउँ मात्र नभएर भजनि नगर पालिकाका स्थानीयले पनि असुविधा झेल्नु परेको उनको भनाइछ । अर्का स्थानीय गजेन्द्र हमालले पनि नजिकै वारी पारी रहेको दरख स्वास्थ्य चौकी जान पहिले १० मिनेट लाग्नेमा कल्भर्ट भत्किएपछि अहिले पौने घण्टाको बाटो हिँड्नु परेको बताए । उनले भने,कहिले कहीँ स्वास्थ्य चौ किमा सुत्केरी डेलिभरी गर्न जाँदा पनि गारो हुने भयो , अहिले त झन् कोरोनाको महामारी छ असुविधा त छ नि , सम्बन्धित निकायले छिटो पहल गरिदिन उनको आग्रह छ । यति बेला देशै भरि फैलिएको महामारीका कारण कैलाली जिल्ला पनि ठप्प भएको छ ।

अहिले आर्थिक गतिविधि पनि जिल्लामा ठप्प भएका छन् । अहिले तत्कालका लागि उक्त कल्भर्ट निर्माणमा बजेटको लागि पहल गर्न त असम्भव नै छ , तर तत्कालका लागि होम पाइप हालेर पनि आवतजावतमा केही सहजता बनाइने वडा न ३ का वडा अध्यक्ष कमल थारुले बताए ।

जति पटक निर्माण गर्दा पनि सवारी आवत जावतमा बारै महिना प्रतिकुल रही रहने सुखड भजनि सडक खण्डको वैकल्पिक बाटो निम्दी बरैया बाटो नै हो । तर अहिले त्यही बाटोमा रहेको कल्भर्ट भत्किदा सवारी साधनले असुविधा झेल्नु पर्ने भएको छ ।

साविकको दरख गाउँ विकास समितिको बजेट बाट निर्माण उक्त कल्भर्ट निकै पुरानो पनि भइसकेको थियो । अव भने उक्त कल्भर्ट निर्माणको लागि सम्बन्धित निकायले तदारुकता देखाउनु पर्ने भएको छ ।