स्थानीय तहको समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु

स्थानीय तहको समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु

सरकारले स्थानीय तहकै समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तीव्र गतिको इन्टरनेट सेवा देशभर पुर्‍याउने अभियान अन्तर्गत पहिलो चरणमा भूकम्प अतिप्रभावित ८ जिल्लामा सो काममा सुरुवात गरिएको जानकारी दिए ।

‘मन्त्रिपरिषद् बैठकले निर्णय गरी पहिलो चरणमा काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ओखलढुंगा र रामेछापमा २ वर्षसम्म नि:शुल्क सो सेवाको व्यवस्था गरिएको छ । मंगलबार ती जिल्लाका गाउँपालिका र नगरपालिकाका प्रमुखहरूसँगको भर्चुअल बैठकमा बोल्दै मन्त्री गुरुङले भने, ‘स्थानीय तहसँग सम्झौंता भइरहेको सो कार्यक्रम ३ महिनाभित्र सम्पन्न गरिनेछ ।’

मन्त्रालयका अनुसार सो कार्यक्रम हाल स्थानीय तहसँग धमाधम सम्झौता भइरहेको छ । मन्त्री गुरुङले सूचना-प्रविधिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा गर्न सरकारले २ वर्षसम्म नि:शुल्क सो सेवा उपलब्ध गराउने निर्णय गरिएको उल्लेख गर्दै छिटो सम्झौता गरेर काम अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूलाई आह्वान गरे ।

उनले सो सेवा देशभर पुर्‍याउने सरकारको योजना रहेको जानकारी दिए । सम्झौता अनुसार स्थानीय तहका स्वास्थ्य चौकी, वडा कार्यालय, सामुदायिक विद्यालयहरूमा २ वर्षका लागि नि:शुल्क तीव्र गतिको इन्टरनेट सेवा उपलब्ध गराइनेछ । नेपालका सहरी र ग्रामिण इलाकाहरूमा इन्टरनेट सेवामा देखिएका समस्या र खासगरी कोभिडका कारण अनलाइन पठनपाठनलाई सहज बनाउन मन्त्री गुरुङकै पहलमा सो कामलाई प्राथमिकताका साथ अघि बढाइएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यक्रम अन्तरगत सूचना महामार्ग निर्माणको कामलाई पनि अघि बढाएको छ । ‘स्मार्ट नेपाल’ अभियान गतिका साथ संचालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयले स्मार्ट नेपाल बनाउने अभियान अन्तरगत सो कार्यक्रमलाई अघि बढाएको बताए ।