बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

बाइडेन र पुटिनबीच भेटवार्ता हुँदै

अमेरिका र रूसका राष्ट्रपतिहरूबीच भेटवार्ता हुने भएकाे छ । द न्युयोर्क टाइम्स समाचार पत्रका अनुसार आगामी जुन १६ मा स्वीट्जरल्यान्डको जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिरबीच भेटवार्ता हुने भएकाे हाे ।

यी दुई शक्ति राष्ट्रका प्रमुखहरूबीच पहिलो पटक भेट वार्ता गर्न लागेका हुन् । भेटका क्रममा आपसी सम्बन्धमा स्थिरता ल्याउने र भरपर्दो बनाउने विषयमा छलफल हुने आशा गरिएको छ । सन् १९८५ मा सोभियत नेता मिखाइल गोर्वाचेभ र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबीचको भेट पनि जेनेभामा नै भएको थियो ।

सोभियत युनियन ढलेपछिका ३० वर्षमा अमेरिका र रूसबीचको सम्बन्ध निकै तिक्ततापूर्ण बिन्दुमा पुगेका बेला बाइडेन र पुटिनबीच भेट हुन लागेको छ । यी दुई नेताहरूबीच व्यक्तिगत रूपमा पनि सम्बन्ध चिसो छ । केही समयअघि बाइडेनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पुटिनलाई ‘हत्यारा’ भनेका थिए । जवाफमा पुटिनले पनि रूखो प्रतिक्रिया दिँदै नयाँ राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गरेका थिए ।