सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुवेदीको एमालेलाई प्रश्नसहितको प्रष्टीकरण, कारवाही हुनुपर्ने कारण के ?

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री सुवेदीको एमालेलाई प्रश्नसहितको प्रष्टीकरण, कारवाही हुनुपर्ने कारण के ?

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नेकपा एमालेको प्रदेश कमिटीलाई चार बुँदे स्पष्टीकरण दिएका छन् । स्पष्टीकरणमा उनले आफूलाई स्पष्टीकरण सोधिएको पत्रमाथि नै प्रश्न उठाएका छन् ।

प्रष्टीकरण पत्रमा सुवेदीले लेखेका छन्– नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधान र निर्वाचित केन्द्रीय कमिटीको निर्णयबमोजिम सुदूरपश्चिम प्रदेश संगठन कमिटीमा अध्यक्ष र सचिवको व्यवस्था नरहेको विदितै छ । हुँदै नभएको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष र सचिवको नाममा प्रेषित पत्रको आधिकारितामा नै प्रश्न चिन्ह लाग्ने कुरा स्पष्ट छ ।

नेकपा एमाले सुदूरपश्चिम कमिटीले प्रदेशका तीन मन्त्रीलाई हिजो स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको मन्त्रालयलाई पार्टी विरोधी अखडा बनाएको आरोप लगाइएको थियो ।

मन्त्री सुवेदीले कोभिड महामारीको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिँदा जनताप्रतिको दायित्वबाट बिमुख भएको ठहर हुने भन्दै प्रदेशसभा दलको कुरा मानेको बताएका छन् ।

उनले पदको दुरुपयोग गरेको र मन्त्रालयलाई पार्टीविरोधीहरुको अखडा बनाएको आरोपको पनि खण्डन गरेका छन् ।

मन्त्री सुवेदीले पार्टी अनुशासन र पद्धतिको उल्लङ्घन नगरेको भन्दै कारबाही हुनुपर्ने कारण नरहेको बताएका छन् ।