प्रहरीको सकृयतामा ३४ अक्सिजन सिलिन्डर संकलन गरि हस्तान्तरण गरियो

प्रहरीको सकृयतामा ३४ अक्सिजन सिलिन्डर संकलन गरि हस्तान्तरण गरियो

 अस्पतालहरूमा अक्सिजन अभाव नहोस् भन्ने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय दार्चुलाले अक्सिजन सिलिन्डर संकलन गरी हस्तान्तरण गरिरहेको छ

 कोरोना भाइरस संक्रमित बिरामीको उपचारार्थ जिल्लाका विभिन्न अस्पतालमा ३४ सिलिन्डर हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।

शुक्रवार मात्रै जिल्ला प्रहरी कार्यालय दार्चुलाले १० भरिएका सिलिन्डर जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरेको तथा ५ सिलिन्डर लटिनाथ स्वास्थ्य चौकीका लागि पठाएको छ ।

यी सिलिन्डर अपि हाइड्रोपावर कम्पनी, ग्यारेज तथा अन्य कम्पनीसँग सहकार्य गरी संकलन गरेको जनाइएको छ । प्रहरी नायव उपरीक्षक भट्टका अनुसार दार्चुला प्रहरीले अहिलेसम्म ३४ सिलिन्डर संकलन गरि हस्तान्तरण गरेको छ । ११ सिलिन्डर गोकुलेश्वर अस्पताललाई, १० सिलिन्डर लटिनाथ स्वास्थ्य चौकी र १३ सिलिन्डर जिल्ला अस्पताल दार्चुलालाई हस्तान्तरण गरिएको हो ।

प्रहरीले अन्य कम्पनी तथा व्यक्तिसँग त्यस्ता अक्सिजन सिलिन्डर भएमा उपलब्ध गराउन अनुरोध गरेको छ । ‘जलविद्युत् आयोजना निर्माणका क्रममा अक्सिजनको प्रयोग गरिएको हुन्छ । निर्माण भइरहेका र भइसकेका आयोजनासँग अक्सिजन सिलिन्डर माग्ने गरेका छौं,’ प्रहरी नायव उपरीक्षक भट्टले भने ।

अहिले दार्चुलामा तत्कालका लागि अक्सिजनको अभाव नरहेको जनाइएको छ ।