टुँडिखेलमा हुने गणतन्त्र दिवस किन सारियो सैनिक मुख्यालयमा ?

टुँडिखेलमा हुने गणतन्त्र दिवस किन सारियो सैनिक मुख्यालयमा ?

 यस वर्ष सरकारले मनाउने गणतन्त्र दिवसको मूल समारोह टुँडिखेलमा नराखेर सैनिक मुख्यालयभित्र आयोजना गरिएको छ ।

विगतका वर्षहरुमा सधैँ टुडिखेलस्थित सैनिक मञ्च (खुला मैदान)मा गणतन्त्र दिवसको मूल समारोह आयोजना गर्ने गरिन्थ्यो । तर यसवर्ष भने भद्रकालीस्थित सैनिक मुख्यालय (जंगी अड्डा) काे हलभित्र उक्त दिवसको मूल समारोह आयोजना गरिएको हो ।

कोरोना संक्रमणको जोखिम र निषेधाज्ञाका कारण तामझाम नगरिने जनाइएको छ । तर औपचारिक रुपमा समारोह आयोजना गरेर दिवस मनाइन लागेको हो ।

समारोह व्यवस्थापन जिम्मेवारी गृहमन्त्रालयलाई रहेको छ । समारोहका लागि सैनिक मुख्यालयमा मञ्च बनाइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार टुँढिखेल छाडेर सैनिक मुख्यालयमा आयोजना गर्नुको खासै कारण छैन, तर पानी परिरहेकाले र कोरोनाका कारण सीमित उच्च पदस्थहरु मात्र उपस्थित हुने भएकाले मुख्यालयमा सानो मञ्च बनाइएको हो ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाध्याक्ष लगायत अत्यन्त सीमित व्यक्तिहरुलाइ आमन्त्रण गरिएको जनाइएको छ ।