पूर्व अर्थमन्त्री पुनको टिप्पणी- दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ भन्ने बजेट

पूर्व अर्थमन्त्री पुनको टिप्पणी- दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ भन्ने बजेट

 नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले कामचलाउ सरकारले ल्याएको बजेट कार्यान्वयन नहुने टिप्पणी गर्नुभएको छ ।

पुनले चुनाव घोषणा गरेर त्यसलाई प्रभावित तुल्याउने ढंगबाट काम चलाउ सरकारले असंवैधानिक कदमका रुपमा बजेट प्रस्तुत गरेको आरोप लगाउनुभयो ।

संसद पुनःस्थापना हुने र यो बजेट खारेज हुने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नियमित सेवा र काम गर्नबाहेक पूर्ण बजेट ल्याउन पाइन्थेन, प्रतिनिधिसभाविना नयाँ कर र राजस्वका दर लगाउन वा घटाउन पनि पाइन्न, यो सरकारबाट संविधान विपरीत काम भएको छ, निर्वाचनको बजेट ठोस रुपमा नआउँदा अर्थमन्त्रीलाई प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने कुरा जस्तो आभास पनि भएजस्तो छ ।’

हामीले गर्न खोजेका थियौँ, काम गर्न दिइएन भन्ने सोचका साथ बजेट ल्याइएको आरोप लगाउँदै पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनले भन्नुभयो, ‘आर्थिक आधार र दीर्घकालीन सोचभन्दा ऋण लिएर घिउ खाऔँ, चुनावलाई प्रभाव पारौँ भन्ने सोचबाट गैरजिम्मेवारपूर्वक रुपमा बजेट आएको छ ।’