प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आज पनि सुनुवाइ

तिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा आज (आइतबार) पनि सुनुवाइ हुने भएको छ । शुक्रबार पहिलाे सुनुवाइ भएर हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा दोस्रो सुनुवाइ आज हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा उक्त मुद्दाको सुनुवाइ भइरहेको हो । न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ उक्त इजलासमा रहेका छन् ।

शुक्रबार रिट निवेदकहरु तथा उक्त पक्षका केही अधिवक्ताहरुले मुद्दामाथि बहस गरेका थिए । उनीहरुको बहस प्रधानमन्त्री केपी शर्मा ओलीले प्रक्रिया मिचेर संसद विघटन गर्नु असंवैधानिक रहेकाले पुनर्स्थापना हुनुपर्नेमा केन्द्रित थियाे  ।

निवर्तमान प्रतिनिधिसभाका १४६ सांसदहरुको संयुक्त रिटसहित संसद पुनस्र्थापनाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् । उनीहरुको माग संसद पुनस्र्थापना र संविधानको धारा ७६ (५) बमोजिम विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रहेको छ ।

यसैगरी प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै ४ वटा रिट दर्ता भएका छन् । सबैको सुनुवाइ संवैधानिक इजलासमा नै हुनेछ ।