अफगानिस्तानमा ९ जना तालिबानी लडाकू मारिए

अफगानिस्तानमा ९ जना तालिबानी लडाकू मारिए

काबुल: युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतबार गरेको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन्।

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख छ।

विज्ञप्तिमा आइतबार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारबाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ।राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ।

तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन।